हेटौंडाः आज २०७७ साल बैशाख २० गते शनिबारका दिन मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा गोलभेँडा, घिरौंला र गाजरको मूल्य केही सस्तो भएको छ । हिजो शुक्रबार प्रतिकेजी २५ रुपैयाँमा विक्री भएको गोलभेँडा आज २० रुपैयाँमा विक्री भएको छ । यस्तै हिजो प्रतिकेजी ७० रुपैयाँमा विक्री भएको घिरौंला आज ५० रुपैयाँमा विक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभएको छ । हिजो प्रतिकेजी २५ रुपैयाँमा विक्री भएको गाजर आज २० रुपैयाँमा विक्री भएको छ ।

थोकबजारमा घिउ सिमी र मटरकोसा आज नभएको उल्लेख गर्नुहुँदै व्यवसायी घिमिरेले भन्नुभयो, ‘आज बिहानैदेखि पानी परेका कारण बजारमा व्यवसायीको उपस्थितिमा पनि केही कम छ ।’ हिजोको तुलना केही तरकारी महंगो भएको छ । हिजो प्रतिकेजी ५० रुपैयाँमा विक्री भएको करेला आज ६० रुपैयाँमा विक्री भएको छ । हरियो खुर्सानी ४० रुपैयाँबाट ५० रुपैयाँ केजीमा विक्री भएको छ । अन्य तरकारीको थोक मूल्य भने हिजो शुक्रबारकै बराबरी रहेको व्यवसायीले बताएका छन् ।