बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दुरीको सडक स्तरीकरणलाई तिब्रता दिइएको छ । संघीय राजधानी काठमाडौंसँग भौगोलिक हिसाबले नजिकै भए पनि स्तरीय सडक पूर्वाधारको अभाव हेटौंडा–काठमाडौं आवतजावतमा असुविधा भइरहेको छ । हेटौंडा–काठमाडौं जोड्ने थुप्रै राष्ट्रिय राजमार्ग तथा वैकल्पिक मार्ग भएर पनि आवतजावतमा धेरै समय लाग्ने समस्यालाई न्यूनीकरण गर्न छोटो दुरीको मार्ग स्तरीयकरणमा प्रदेश सरकारले विशेष चासो देखाएको छ । करिब दुई दशकदेखि सञ्चालन भइरहेको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक स्तरीकरण हुन सकेको छैन । साना सवारी साधनमात्र सञ्चालन भइरहेको उक्त मार्गको स्तरीकरणका लागि विगतमा संघीय सरकारले केही कार्य गरेको भए पनि पछिल्लो समय बागमती प्रदेश सरकारले विशेष चासो दिएको छ । छोटो दुरीको बाटो जीर्ण र साँघुरो हुँदा यात्रा कष्टकर र जोखिमपूर्ण बन्नुका साथै धेरै समय लाग्ने गरेको छ । हेटौंडा बागमती प्रदेशको स्थायी राजधानी भएपछि प्रदेशका अन्य जिल्लाका सेवाग्राहीलाई राजधानी आउनजान सहज बनाउने उद्देश्यले प्रदेश सरकारले सडक स्तरीकरणलाई तिब्रता दिएको हो ।

हेटौंडाबाट काठमाडौं आवतजावत गर्न करिब आधा दर्जन सडक सञ्चालनमा रहेका छन् । मुलुककै सबैभन्दा पुरानो त्रिभुवन राजपथ (बाइरोड) बढी घुमाउरो र साँघुरो भएका कारण यात्रा सहज हुँदैन । हेटौंडा–नारायणगढ–मुग्लिन हुँदै पृथ्वी राजमार्ग भएर काठमाडौं जाने बाटो सजिलो भए पनि लामो दुरी भएका कारण धेरै समय लाग्ने गर्दछ । ६ दशकभन्दा अघिदेखि निर्माण सुरु भएको कान्ति लोकपथबाट काठमाडौं आउजाउ गर्न सकिने भए पनि सो सडक पनि स्तरीकरणकै क्रममा रहेका कारण सार्वजनिक यातायात सञ्चालन हुन थालेको छैन । हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जान पनि तीनवटा विकल्प रहेका छन् । कुलेखानीबाट सिस्नेरी–छैमले हुँदै जाने बाटो, फाखेल हुँदै जाने बाटो र चित्लाङ–चन्दागिरी हुँदै जाने बाटो सबैको दुरी र अवस्था करिब उस्तै छन् । पछिल्लो समय बागमती प्रदेश सरकारले यही बाटोको स्तरीकरणमा प्राथमिकता दिएर कामलाई तिब्रता दिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलेको विशेष पहलमा अहिले कुलेखानीबाट फाखेल हुँदै जाने र सिस्नेरी हुँदै जाने दुईवटै सडकमा सवारी आवागमन बन्द गरेर स्तरीकरणलाई तिब्रता दिइएको छ । गत फागुन १ गतेबाट दुई महिनाका लागि सवारी आवागमन बन्द गरेर स्तरीकरणको कामलाई तिब्र पारिएको हो । हेटौंडाबाट काठमाडौं जाने साना सवारी साधनलाई कुलेखानीबाट चित्लाङ हुँदै जानुपर्ने र काठमाडौंबाट हेटौंडा आउने सवारी साधनले कान्ति लोकपथ प्रयोग गर्ने गरी व्यवस्था मिलाइएको छ । भीमफेदी–कुलेखानी सडक खण्ड यसअघि नै स्तरीकरण गरिसकेको प्रदेश सरकारले भैंसे–भीमफेदी सडक खण्डको स्तरीकरणमा पनि तिब्रता दिन विशेष चासो देखाएको छ । स्तरीकरणको काम सम्पन्न भएपछि करिब ७५ किलोमिटरको उक्त छोटो बाटोबाट २ देखि ३ घण्टामा साना सवारीबाट हेटौंडा–काठमाडौं यात्रा गर्न सकिनेछ ।

हेटौंडाबाट भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने छोटो बाटोलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिनुलाई सकारात्म मान्नुपर्छ । यो बाटोको निर्माणले प्रदेशका अन्य जिल्लाका मानिसलाई राजधानी हेटौंडा आउन र हेटौंडाका मानिसलाई संघीय राजधानी काठमाडौं जान निकै सहज हुने निश्चित छ । संघीय र प्रदेश राजधानी जोड्ने छोटो बाटोको स्तरीकरणले यात्रालाई छिटो र सहज बनाउनुका साथै उक्त मार्गमा हुने गरेको दुर्घटनाको जोखिम कम गराउने विश्वास गर्न सकिन्छ । निर्माणाधीन कान्ति लोकपथले पूर्णता पाएर काठमाडौं–तराई मधेश दु्रतमार्गसमेत निर्माण सम्पन्न भएपछि हेटौंडा–काठमाडौंबीचको आवागमन थप सहज हुने आशा गर्न सकिन्छ । अझ प्रदेश सरकारले निर्माण गर्ने भनेको प्रादेशिक चक्रपथको योजना कार्यान्वयन भएमा प्रदेशका सबै जिल्लाबाट राजधानी हेटौंडासम्मको पहुँच सहज हुने देखिन्छ ।