हेटौंडाः स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक पाउने भएको छ । लगातार तेस्रो वर्षका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बुलेट बाइक प्रायोजन गरेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकराम लामाले जानकारी दिनुभयो । बिहीबार खेलमैदानमै आयोजित पत्रकार सम्मेलनमा एन्फा केन्द्रीय समितिका सदस्य समेत रहनुभएका जिल्ला अध्यक्ष लामाले उत्कृष्ट खेलाडीलाई बुलेट बाइक दिने निश्चित भएको जानकारी गराउनुभयो ।
यसैबीच घरेलु टोली मकवानपुर–११ लाई रिगल हेटौंडा रिसोर्टले प्रायोजन गर्ने निश्चित भएको छ । प्रायोजन निश्चित भएसँगै घरेलु टिमको नाम रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ रहने अध्यक्ष लामाले जानकारी दिनुभयो । प्रतियोगिता सकिएको ७ देखि १० दिनभित्र आय–व्यय विवरण सार्वजनिक गर्ने पनि अध्यक्ष लामाले स्पष्ट पार्नुभएको छ । भोलि शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेल छिमेकी बारा जिल्लाको नवजागृति युवा क्लब र घरेलु टोली रिगल रिसोर्ट हेटौंडा मकवानपुर–११ बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ ।

प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । समूह ए मा नेपाल एपीएफ, हिमालयन शेर्पा क्लब, बीरगन्ज युनाइटेड, हिमालयन शेर्पा क्लब, एनआरटी फुटबल क्लब, बागमती युवा क्लब र एभिनियर एफसी रहेको छ भने समूह बी मा फ्रेण्ड्स क्लब, नवजागृति युवा क्लब, रिगल रिसोर्ट हेटौंडा मकवानपुर–११, सातदोबाटो क्लब, मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब रहेको छ ।
हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।