हाल नेपालमा कक्षा १२ सम्मलाई विद्यालय तह मानिएको छ । केही वर्ष अघिसम्म विद्यालय तहको अन्तिम परीक्षाको रुपमा कक्षा १० को एसएलसी परीक्षालाई लिइन्थ्यो । यसकारण एसएलसी परीक्षालाई सबै विद्यालय, अभिभावक तथा विद्यार्थीले विशेष चासोका रुपमा लिने गर्दथे । अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षामा समावेश गरेपछि कक्षा १२ को परीक्षालाई एसएलसी भन्ने गरिएको छ । यस आधारमा कक्षा १० को परीक्षालाई सामान्यरुपमा लिनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) नाम दिएर विगतको एसएलसीकै विधि, प्रक्रिया र महत्वका साथ परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन हुने गरेको छ । यो परीक्षा पनि कक्षा १२ को जस्तै राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ । एउटै तहको कक्षा १० र १२ मा दुई पटक राष्ट्रियस्तरको बोर्ड परीक्षा सञ्चालन गरिँदै आएको कारण विगतको एसईईलाई एसएलसीसरह मानेर यसको मापन तथा मूल्यांकन हुने गरेको पाइन्छ । फलस्वरुप अधिकांश विद्यालयहरुले एसईई परीक्षाको तयारीका लागि हरसम्भवका उपायहरु अपनाउने गर्दछन् ।
विगतमा विद्यार्थी जीवनकै सबैभन्दा महत्वपूर्ण परीक्षाको रुपमा एसएलसीलाई मान्ने गरिन्थ्यो । एसएलसीको नतिजाको आधारमा कुनै पनि विद्यार्थी तथा विद्यालयको शैक्षिक स्तर मापन गर्ने आधार बनाइन्थ्यो । यस वर्षको एसईई परीक्षा कार्यक्रम (रुटिन) सार्वजनिक भएसँगै विद्यालयहरुले विद्यार्थीको तयारीमा अझ जोड दिन थालेका छन् । अबको दुई महिनापछि (चैत १७ गतेदेखि) एसईई परीक्षा सुरु हुँदैछ । एसईई परीक्षाको नतिजालाई राम्रो बनाउन विद्यालयहरुले नियमित पठनपाठनका साथै महिनौं अघिदेखि अतिरिक्त कक्षाहरु सञ्चालन गर्दै आएका छन् । परीक्षाको समयतालिका सार्वजनिक भइसकेको र परीक्षा आउन दुई महिनामात्र बाँकी भएको अवस्थामा अहिले एसईईको पूर्वतयारी परीक्षा सञ्चालन हुन थालेको छ । निजी विद्यालयमा एसईई अभ्यास परीक्षा सुरु भएको छ । प्याव्सन मातहतका देशभरका विद्यालयमा आइतबारबाट एकसाथ अभ्यास परीक्षा सुरु भएको हो । परीक्षामा मकवानपुरका ३७ विद्यालयका १ हजार १ सय ९४ विद्यार्थी सहभागी रहेको बताइएको छ । जिल्लाका कतिपय पालिकाका विद्यालयहरुमा पनि एसईई पूर्वतयारी परीक्षा सुरु गरिएको छ भने केही पालिकाले समयतालिका तोकेका छन् । हेटौंडा उपमहानगरपालिका सामुदायिक विद्यालयहरुमा भने यही माघ २६ गतेदेखि पूर्वतयारी परीक्षा हुने भएको छ ।
अहिले प्याव्सनले सञ्चालन गरेको अभ्यास परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाकै ढाँचामा लिइएको छ । त्यतिमात्र होइन, विद्यार्थीलाई परीक्षा केन्द्र कायम गरिएका अन्य विद्यालयमा परीक्षा दिन लगाइएको छ । यस्तो अभ्यास परीक्षाले विद्यार्थीको पूर्वतयारीमा सहयोग पुग्ने भए पनि परीक्षा केन्द्र नै तोकेर देशव्यापी एउटै प्रश्नपत्रमा परीक्षा सञ्चालन गर्नु भनेको एसईईलाई अझै पनि एसएलसीकै महत्व दिनु हो । एसईई कक्षा १० बाट ११ मा जान विद्यार्थीको मूल्याङ्कन गर्ने एउटा सामान्य परीक्षा बन्नुपर्ने अवस्थामा शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत सम्बद्ध निकाय र विद्यालयहरुले यसलाई हाउगुजी बनाइरहेका छन् ।
विद्यालय, अभिभावक, विद्यार्थीले परीक्षाको तयारी गर्नु/गराउनुलाई अन्यथा मान्नु हुँदैन, यो स्वभाविक प्रक्रिया हो । परीक्षाको लागि जति राम्रो तयारी भयो, त्यति राम्रो नतिजा आउने सम्भावना हुन्छ । तर, परीक्षा र नतिजामात्र सबथोक होइन । विद्यार्थीको नतिजामा प्राप्त अंक वा ग्रेडले मात्र उसको सक्षमता मापन गर्न सकिँदैन । कुनै पनि कक्षा वा तहको परीक्षा र त्यसको नतिजालाई माथिल्लो कक्षा वा तहमा अध्ययनका लागि आवश्यक आधारको रुपमा लिने र सोहीअनुसार बुझ्ने बुझाउने हुनुपर्छ । विद्यार्थीमा कुनै पनि परीक्षाको डर देखाएर अनावश्यक दवाव दिनु उचित हुँदैन । विद्यार्थीमा भएको ज्ञान, सीप, क्षमता सबै पक्षको उपयुक्त मूल्यांकन हुनसक्ने रचनात्मक परीक्षा प्रणालीको आवश्यकता छ ।