हाम्रो देशमा प्रत्येक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने गरिन्छ । अहिले शहीद सप्ताह शुरु भएको छ । अघिपछि बिर्से पनि यो समयमा शहीदको योगदानका गाथा गाउने र शहीद पार्क, शहिद गेट एवम् शहीदका सालिकहरुमा माल्यार्पण गर्न धाउनेको भीड भने बाक्लै लाग्ने गरेको देखिन्छ ।
टंकप्रसाद आचार्यले फ्रान्सको राज्यक्रान्तिका सम्बन्धमा लेखिएको पुस्तक पढेपछि सोबाट प्रभावित भई नेपालमा पनि राणा शासन समाप्त पारेर बैधानिक सरकारको गठन गर्ने उद्देश्यका वि.सं. १९९३ जेष्ठ २२ गते ओमबहाल स्थित धर्मभक्त माथेमाको घरमा नेपाल प्रजापरिषद् नामक राजनैतिक संस्थाको स्थापना गरे । सो संस्थाका सम्पूर्ण सदस्यहरुले राणा शासन अन्तगरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने…आदि उद्देश्यहरु लेखिएको कागजमा दाहिने हातको बुढी औंलाको रगतले सहीछाप गरी उक्त कागजलाई धर्मभक्त माथेमाले आफ्नै घरमा प्रधानमन्त्री जुद्धसमशेरको फोटो पछाडि गारोभित्र राखेका रहेछन ।
आर्थिक प्रलोभनमा परेर रामजी जोशीले संस्थाको सम्पूर्ण पोल खोलिदिएको हुनाले यसका सदस्यहरुलाई राणा सरकारले गिरफ्तार गर्यो र वि.सं. १९९७ माघ ६ गते शुक्रराज शास्त्री, दशरथचन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय दिने फैसला सुनायो । उक्त फैसला अनुसार नेपालका ती चार शहीदहरुलाई फासी दिने व्यक्ति हुन् यिनै जनरल नरसमशेर । उनले कसरी ती शहीदहरुलाई फासी दिए भन्ने सम्बन्धमा हेमन्त शमशेर राणाद्वारा लिखित नरशमशेरको जुवानीमा यसरी उल्लेख गरिएको पाइन्छ ।
“सबैभन्दा पहिले, पहिल्यै कारागारमा परिसकेका आर्य समाजी शुक्रराज शास्त्रीलाई मिति १९९७ माघ १० गते झुण्ड्याई दिने आदेश अनुसार सो साँझ उनका परिवारलाई अन्तिम भेटको लागि बोलाउन मानिस पठाएँ । उनकी बहिनी चन्द्रकला मल्ल र अर्का दाई पर्ने व्यक्ति आई भेटघाट गरेर उनीहरुले सगुनस्वरुप फूलमाला र टीका लगाई फर्के । त्यसको केही समयपछि भद्रगोल झ्यालखानाबाट लहरी(टंक)मा चढाई टेकुस्थित बकैनाको रुखमा ल्याई पुर्याउँदा राती १०/११ बजेको थियो । पूरा बाटो भरी शुक्रराज शास्त्रीले ठूल–ठूलो स्वरमा संस्कृतका श्लोकहरु वचन गर्दै आए ।
एउटा सिपाहीले “के कराएको” भनेर उनलाई लहरीमा हिर्काउदा “मर्ने बेलामा पनि पाठ गर्दै मर्न नपाइने” भनेर उल्टो सो सिपाहीलाई झपारी झन ठूलो स्वरले पाठ गर्दै आए । लहरीबाट ओरालेपछि मैले उनलाई “अन्तिम इच्छा के छ ?” भनी सोध्दा “बागमतीमा स्नान गरी मर्न पाउँ ” भनेको हुनाले स्नान गरी धोती पाटा फेरी ठूल–ठुलो स्वरले नै पाठ गर्दै झुण्ड्याउने ठाउँमा आई आफैले डोरी आफ्नो घाँटीमा हाली सकेपछि छेउमा बसेको पोडेलाई आफ्नो नाडीमा बाँधेको घडी फूकाली दिएर “धेरै दुःख नहुने गरी एकै पटकमा झुण्ड्याई देउ है” भनी आग्रह गरे । पोडेले पनि शुक्रराज उभिएको खटिया एकै चोटीमा झ्वाट्ट तानीदियो र उनी सहजैरुपमा विना काष्ट प्राण मुक्त भए ।
शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको ३ दिनपछि अर्थात १९९७ साल माघ १३ गतेको राती धर्मभक्त माथेमालाई भद्रगोल जेलबाट सिफलस्थित उकालोको बीचमा रहेको खरीको बोटमा झुण्ड्याई मृत्युदण्ड दिन लगियो । त्यसरी लहरीमा हाली लैजानु अघि उनको आफन्तहरुलाई पनि अन्तिम भेटको लागि बोलाइएको थियो । तर उनका बाबु काजी आदिभक्त कलकत्तामै भएको हुँदा अन्तिम समयमा छोरालाई भेट्न पाएनन् । अरु नै दुई चार जना आई भेटे । तर धर्मभक्त त्यसदिन अफिम खाएर हो वा के भएर हो अलि अर्धचेत जस्ता भइसकेका थिए । लहरीमा चढाउँदा समेत उसको भारी पहलमानी शरीरलाई सात/आठ जना सिपाहीले बोकेरै उकाल्नु परेको थियो । शुक्रराज शास्त्री लहरीमा कराउँदा पाठ गर्दै अन्तिम यात्रामा गएका थिए भने धर्मभक्त एकशब्द पनि चु नगरी आए ।
लहरीबाट ओराल्दा पनि सबै सिपाही मिली उनको अर्धचेतन शरीरलाई थामी ओराल्नु परेको थियो । उनलाई झुण्ड्याउन हाँगामा डोरी तयार पार्न दुई जना पोडे खटिएका थिए । उनीहरुले तयार पारेको डोरीमा धर्मभक्तलाई फासी हाल्न पनि सिपाहीहरु नै प्रयोग गर्नु पर्यो । पहिलो चोटी धर्मभक्त उभिएको त्रिपाई उसको खुट्टामुनिबाट पोडेले तान्दा हाँगा काँचो, लचिलो भई दिंदा उसको खुट्टाले भुई छोयो र मृत्यु हुनुको सट्टा डोरीको पासोले घाँटी क्याकल्याक–क्याकल्याक मात्र भयो । तुरुन्त डोरी फुकाइपछि फेरी अर्काे हाँगामा बाँधी उसलाई झुण्डाईयो । त्यो हाँगो चाहीँ सुकेर खोक्रो भईसकेको कारण ठनक्कै भाँचिई धर्मभक्तको शरीर भुईमा थचारियो । त्यसपछि पुनः तेश्रो पटक अर्काे दह्रो हाँगा छानी त्यसमा डोरी बाध्न लगाई झुण्ड्याउँदा बल्ल उसको प्राण गयो ।
दशरथचन्द र गंगालाललाई पनि अरुलाई जस्तै झुण्ड्याएर मृत्युदण्ड दिने निर्णय नै थियो । तर यी दुई जनाले आफूहरु एकै साथ एकै ठाउँमा मर्न पाउँ भनी आग्रह गरे । कसरी एकै ठाउँमा एकै साथ सो कार्य गर्ने हेला भनी मैले धेरै विचार गर्नुपर्यो । अनि दुवैलाई एकै ठाउँ र एकै पटक मार्न गोली हान्नु पर्ने कुरा सुनाउँदा उनीहरु पनि सहमत भए । उनीहरु दुवै जनाले एकैसाथ शोभा भगवतिमा राणा शासन ढाल्ने भाकल पनि गरेका रहेछन् र सोही कुरा सम्झी मर्न पनि शोभा भगवति मै अन्तिम दर्शन गरी मर्न पाउँ भन्ने इच्छा व्यक्त गरे । उनीहरुकै इच्छा बमोजिम माघ १४ गतेको राती दुवैजनालाई त्यही शोभा भगवति स्थानमा लगियो । लैजानु अघि उनीहरुका आफन्तहरुलाई पनि अन्तिम भेट गर्न बोलाइएको थियो ।
भेटघाट सकिएपछि आफन्तहरुले टीका, अवीर, माला लगाई गएका हुँदा उनीहरुलाई राती १०ः०० बजेतिर लहरीमा हाली प्याकलको बाटो लैजाँदा गंगालालको घर बाटैमा पर्ने हुँदा लहरीबाट गंगालालले आफ्नी श्रीमतीलाई “हसिना, हसिना ।” भन्न भ्याए । उनकी श्रीमतीले एक/दुई दिन अघि मात्र छोरा पाएकी थिइन् । गंगालाललाई मृत्युदण्ड सुनाउने बेला ऊ कलिलै उमेरको ठिटो भएको र उनकी श्रीमतीले पनि पेट बोकेको हुँदा उनलाई माफी दिने कुरा बुबा हजुर (जुद्ध समशेर) बाट बारम्बार निर्देशन भएको थियो । अन्तिम समयसम्म पनि उनले माफी मागेको खण्डमा नमारी आजीवन कारागारमा दण्ड परिवर्तन गर्ने निर्णय समेत भएको थियो । त्यसैले उनलाई उनकै घरको बाटो लगिएको र पछि पनि बारम्बार मैले र मसँग आएका सिपाही अफिसर सबैले उनलाई माफी माग्न घच्घच्याई रह्यौं तर उनी साह्रै जिद्दीवाल निस्के । उनलाई फकाई–फुल्याई माफी मगाउँला भनेरै अर्का जिद्दीवाल ठकुरी दशरथचन्दले एकैसाथ एकै ठाउँमा पर्न पाउँ भनी सर्त राख्नुको कारण नै त्यही थियो जस्तो मलाई लाग्छ ।
शोभा भगवति पुगरे उनीहरु दुवैले पूजाको टपरी मन्दिरको भित्री ढोकामा चढाई “भगवति माता आज हामी दुवै प्रशन्न छौ । हजुरकहिं पहिले आएर राणा शासन ढाल्ने भाकल गरेका थियौं, हजुरकै अहिले आएर प्राण त्याग गर्न पायौं” भन्दै मन्दिर परिक्रमा गरे । अनि विष्णुमति नदीको बगरमा उनीहरुलाई लगि त्यहाँ गाडी राखेको बाँसको खाँवाहरुमा बाँधेर उनीहरुलाई एकसाथ गोली हानी मार्न केही दिन अघिदेखि नै तालिम गराइएको दुई जना पोडेहरुलाई १२ बोरको बन्दुकमा १/१ नम्बरको टोटा हाली “एकै साथ गोली पड्काई मारी दिनु” भनी मैले पठाएँ ।
म र म मुनिका कर्णेल चन्द्रबहादुर थापा वरै रहेको पाटीमा बस्यौ । दुईजना पोडेलाई लिएर मेजर दर्जावाला एकराज शमशेर दाइका साला “प्राणराजा” भन्ने ठकुरी बाबुसाहेव मृत्युदण्ड दिन तयार पारिएको ठाउँतर्फ लागे । प्राणराजाले सिट्ठी बजाई इशारा दिने र सो इशारा पाउनासाथ दुबै पोडेले एकैसाथ दशरथचन्द र गंगालाललाई प्वाइन्ट ब्ल्याक्त रेन्ज अर्थात कसो–कसो छातिमै जोडी टिंगर तान्ने व्यवस्था मिलाएका थियौं । तर दुर्भाग्यवश दशरथचनदलाई बन्दुक तेस्र्याई टिंगर तान्ने पोडे पुरानो अनुभवी र शुक्रराज र धर्मभक्त दुवैलाई झुण्ड्याई सकेर अनुभव पाएका व्यक्ति हुँदा उसले इशारा पाउनासाथ बन्दुक पड्काई दशरथचन्दलाई मारी दियो । तर गंगालाललाई बन्दुक तेस्र्याईरहेको अर्काे पोडे शिकारु र अनुभवहीन हुनाले टिंगर तान्नुको सट्टा बन्दुकै फाली भागी दियो ।
गंगालाल रिसाएर “एकैचोटी मार्ने भन्दाभन्दै मेरो साथीलाई किन मारिस मलाई पनि ठोक” भन्दै कराउन थाले । त्यत्तिकैमा भागेको पोडेलाई सिपाहीहरुले समाती हामी बसेको पाटीमा ल्याए । गोली हान्ने अनुभवी पोडे पनि त्यही आइपुगेको थियो । मैले ठिटो पोडेलाई अनेक प्रलोभनको साथ धम्की समेत दिएर “आफ्नो तोकिएको कर्तव्य पूरा गर्न जा” भनी अनेक प्रयत्न गर्दा पनि “बरु मलाई मारे हुन्छ म त सक्तिन” भन्दै हतासमा रुँदै भुईमा लडीबुडी गर्न थाल्यो ।
अनि उही अनुभवी दशरथचन्दलाई भर्खरै मात्र गोली हान्ने पोडेलाई “एकजना त मारी सकिस अर्कालाई पनि तैले नै हान । बरु थप बक्सिस दिन्छु” भन्दा पनि पहिले त मान्दै मानेन । त्यसलाई अर्काे बोतल रक्सी पिलाई अंगालो हाल्दै आफैले कराइरहेको गंगालालतर्फ लगी उसको छातिमा बन्दुक तेस्र्याई “टिगर तान्दे” भनी आदेश दिए । निजले हात कमाई–कमाई बल्ल बल्ल अनेक पटक मैले आग्रह गर्दा टिगर दबाई दियो र गंगालाल पनि धरासायी भयो । त्यसले टिगर नतानी दिएको भए म आफैले टिगर तान्नु पर्ने अवस्थामा पुगेको थिए । किनभने पोडेहरुलाई फकाउदा –फुलाउदा धेरै समय वितिसकेको र मिर्मिरे बिहानीको उज्यालो हुन थालिसकेकोले शोभा भगवतिको पुजा गर्न आउने श्रद्धालुहरुको भीड लाग्ने डर भइसकेको थियो । त्यसरी दशरथचन्द र गंगालाललाई उनीहरुको अन्तिम इच्छा बमोजिम अरु कुरा पुर्याई दिन सके तापनि एकैसाथ मार्ने इच्छा पुर्याई दिन नसकेकोमा मलाई अहिलेसम्म पनि निकै सन्ताप लागेको छ …।
लखन थापादेखि हालसम्म धेरै शहीदहरुले देश र जनताको लागि बलिदान दिइसक्नु भएको छ । राणा शासन फाल्न होस्, पञ्चायती व्यवस्था ढाल्न होस् या गणनन्त्रको जग हाल्न होस्। तर ती अमर शहीदहरुका सपना सार्थक भए वा शहीदको शवलाई भर्याङ बनाएर शासकहरु सत्ताको शीखरमा आरोह मात्र गरिरहे । यस्ता अनेकौ प्रश्नले भने सधै झक्झक्याउने गर्दछ ।
नेपाल आमाका सपुतहरु जो आफ्नो पारिवारिक सुख, शान्ती, माया, मोह र ऐश आरामलाई तिलाञ्जली दिंदै देश र जनताको मुक्तिका लागि आफ्नो प्राणसमेत अर्पण गरे । त्यस्ता वीर शहीदहरुको सदैव याद आइरहन्छ । अझ सत्ता सञ्चालनको लाइसेन्स वा नियुक्ति बुझेर जानेहरुले टलक्क टल्किने दौरा सुरुवाल कोटमा लहरै ठडिएर सपथ खाएको र टाउको नै पुरिने गरी माला, खादा लाएको दिन भने झन विशेष याद आउँछ । राष्ट्र र जनताको लागि जीवन बलिदानी दिने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त व्यक्त गर्दछु ।
इति