घोषणा विष्ट।

हेटौंडाः हेटौंडा–४ का घोषणा विष्टले विद्यावारिधी उपाधि हासिल गर्नुभएको छ । फ्रान्सस्थित लियोन विश्वविद्यालयबाट करिब ३ वर्षको अनुसन्धानपछि विष्टले विद्यावारिधी उपाधि हासिल गर्नुभएको हो ।

विष्टले इलेक्ट्रोनिक कम्युनिकेशनमा “भर्चुअल सञ्जालसम्बन्धी कार्यमा सफ्टवेयर स्वामित्वका लागि कुल लागत” शीर्षकमा विद्यावारिधी तहको अनुसन्धान गर्नुभएको हो । पूर्ण छात्रवृत्तिमा विष्टले विद्यावारिधी तहको अध्ययन तथा अनुसन्धान पूरा गर्नुभएको हो । हेटौंडा–५, भैरवरोडस्थित उज्ज्वल शिशु निकेतनबाट एसएलसी उत्तीर्ण गर्नुभएका विष्टले दश जोड दुई तह विज्ञान विषयमा काठमाडौंस्थित नोवेल एकेडेमीबाट पूरा गर्नुभयो ।

काठमाडौं इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक कम्युनिकेशनमा स्नातक तह उत्तीर्ण गर्नुभएका विष्टले स्नातकोत्तर तहको उपाधि थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र फ्रान्सकै पेरिसबाट पनि स्नातकोत्तर तहको उपाधि हासिल गर्नुभएको छ । उच्च शिक्षा हासिल गर्नुभएका विष्टले अब नेपाल फर्कने वा युरोप बसेर काम गर्ने भन्ने विषय परिवारसँग छलफल गरेर तय गरिने बताउनुभएको छ ।