प्रतियोगिताबारे जानकारी गराउँदै ।

हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना हुने पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता पुस २४ गतेदेखि सुरु हुने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो ।

बागमती–८, फापरबारीस्थित जनता माविको मैैदानमा हुने प्रतियोगितामा दुई मोफसल टिम, एक विदेशी टिम र ७ वटा ए डिभिजन क्लबहरुको सहभागिता रहने प्रतियोगिता उपसमितिका सह–संयोजक मनोज बलले जानकारी गराउनुभयो । प्रतियोगितामा आयोजक बागमती गाउँपालिका, मकवानपुर–११, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब, जावलाखेल युथ क्लब र अमेरिकी टिम भुट्निज युथ स्पोर्ट्सको सहभागी रहनेछ । साविक विजेता थ्री स्टार क्लब भने पाँचौं संस्करणको प्रतियोगितामा सहभागी नहुने भएको छ । चौथो संस्करणमा विदेशी टिम क्यामरुनलाई हराउँदै थ्रीस्टारले उपाधि जितेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरुले जनही १०–१० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ३ गते हुनेछ ।

प्रतियोगितामा करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि बागमती गाउँपालिकाले ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यस्तै बागमती प्रदेश खेलकुद विकास परिषद्, राष्ट्रिय खेलकुद परिषद् र विभिन्न संस्थामा सहयोगका लागि अनुरोध गरिएको जनाएको छ । प्रतियोगिताको खेल तालिका बुधबारसम्ममा सार्वजनिक गरिने पालिकाका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले पालिकाले युवा खेलाडी उत्पादनमा नयाँ ढङ्गबाट अघि बढ्ने बताउनुभयो । प्रतियोगितामा आयोजक बागमती टिमले स्थानीय खेलाडीलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । टिममा बाहिरका केही खेलाडीहरु पनि समावेश गर्न सकिने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको पनि उपस्थिति रहेको थियो ।