हेटौंडाः हेटौंडा–सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा शुक्रबार बिहान मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले उल्लेख गरेको छ ।
शुक्रबार बिहान ७ बजेर ४५ मिनेटको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रक चालक बारा जिल्लाको निजगढ नगरपालिका–९ का २५ वर्षीय सूर्य बहादुर घिमिरे, ट्रकमा सवार परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुष, मोटरसाइकल चालक हेटौंडा–१८, फुर्केचौरका ३० वर्षीय बिक्रम भम्जन र मोटरसाइकलमा सवार अन्दाजी ४० वर्षीया हिरामाया लोप्चन घाइते भएका छन् । ट्रक चालक घिमिरे बाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।