हेटौंडाः लकडाउनका बेला कृषिउपज उपभोक्तासम्म पुर्याउन भइरहेको असहजतालाई ध्यानमा राखेर मकवानपुरका सहकारीहरुले कृषिउपज बजारीकरणमा सक्रिय हुने भएको छ । आज हेटौंडामा विभिन्न विषयगत सहकारी संघका व्यवस्थापकहरुको सहभागितामा कृषिउपज बजारीकरणका बारेमा छलफल भएको जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दहालले जानकारी दिनुभयो । दाहालका अनुसार किसानले उत्पादन गरेका कृषिउपजलाई सहकारी संस्थासम्म उपलब्ध गराउने र सहकारी संस्थाले आफ्ना सदस्यलाई विक्री गर्ने रणनीति तय गरिएको छ ।
हेटौंडा–९ स्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको सभाकक्षमा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र राष्ट्रिय सहकारी बैंकका व्यवस्थापकको सहभागितामा छलफल भएको हो । छलफलमा पहिलो चरणमा तरकारीजन्य कृषिउपजलाई व्यवस्थित रुपमा प्याकिङ गरी प्रारम्भिक सहकारी संस्थाको मागअनुसार वितरण गर्ने निर्णय भएको जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दहालले जानकारी दिनुभयो । जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी बैशाख १६ गतेदेखि वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
मकवानपुर जिल्ला कृषि सहकारी संघले थाहा नगरको बज्रबाराहीस्थित साना किसान सहकारीसँगैका समन्वयमा पहिलो चरणमा काउली, मुला र मटरकोसा हेटौंडा ल्याइने कृषि सहकारी संघका व्यवस्थापक नरेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार बज्रबाराहीबाट पठाइएको तरकारीलाई जिल्ला कृषि सहकारी संघको हेटौंडास्थित विक्री केन्द्रमा काउली र मूला २/२ केजी तथा मटरकोसा एक केजी गरी ५ केजीको प्याकेज बनाएर सहकारीको मागअनुसार वितरण गरिने छ । तरकारी वितरणका लागि बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुईवटा भ्यान उपलब्ध गराएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो । बज्रबाराहीको तरकारीको वितरण व्यवस्थापनको प्रभावकारिता हेरेर जिल्लाका अन्य क्षेत्रका कृषि उपजको पनि बजारीकरणको कार्य गरिने उहाँले बताउनुभयो ।
पहिलो चरणमा तरकारीजन्य कृषिउपजको बजारीकरण गर्दै दोस्रो चरणमा पशुजन्य कृषिउपजको बजारीकरणमा ध्यान दिइने बताइएको छ । लकडाउनका बेलामा विशेषगरी कुखुराजन्य उत्पादनमा कुखुरापालक किसान निक्कै मारमा परेको भन्ने समाचार सार्वजनिक भएको कुरालाई पनि सहकारीले हेरिरहेको मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दहालको भनाइ छ । मकवानपुरमा कुखुरापालक किसानले सहकारी संस्था दर्ता नगरेका कारण समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । तनहूँ, गोरखा जिल्लामा कुखुरापालक कृषि सहकारी संस्था रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘कृषकले नै सहकारीको अवधारणालाई बुझिदिने हो भने जिल्ला संघले त्यसलाई सहयोग गर्छ ।’ कृषिउपजको बजारीकरणकै लागि भनेर जिल्ला सहकारी संघले सहकारी बजार केन्द्रको अवधारणालाई नै पनि कार्यान्वयन गर्न सकिने दहालको भनाइ छ ।