मूर्ति बनाउँदै कलाकार हर्क लामा ।

हेटौंडाः पढेपछि शारीरिक श्रम गर्न लजाउनेहरूका लागि उदाहरण हुन् मकवानपुरगढी गाउँपालिकाका हर्क लामा । उनी अहिले लकडाउनको समयमा एकान्तमा मूर्ति निर्माणमा व्यस्त छन् । हेटौंडा ९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा अहिले उनले निर्माण गरेका मूर्तिहरू यत्रतत्र देख्न सकिन्छ ।
महाभारतमा उल्लेखित पाँच पाण्डव तथा हेडम्बा राक्षस र हिडिम्बाको मूर्ति उनले तयार गरिसकेका छन् । त्यतिमा होइन उनले अन्य विभिन्न व्यक्तिहरूको पनि मूर्ति निर्माण गरिरहेका छन् । त्रिवेणी धाममै बसेर उनी विभिन्न देवी देवताका साथै मानिसको समेत मूर्ति निर्माण गर्छन । उनलाई मूर्ति निर्माण गरिदिन आग्रह गर्नेहरू पनि धेरै छन् । मूर्तिकला विषयमा काठमाडौँको ललितकला क्याम्पसबाट स्नातक गरेका लामालाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ । उनी भन्छन्, “मैले त्रिवेणीधामका लागि मूर्तीहरू निर्माण गरिरहेका छु तर अहिले अन्य व्यक्तिहरूले पनि मूर्ती निर्माण गरिदिन आग्रह गरेकोले त्यो काम पनि गरिरहेको छु ।” उनले एउटा मूर्ती निर्माण गरेबापत ७० देखि ८० हजारसम्म लिने गरेको बताए । उनले भने, “एउटा मूर्ती बनाएबापत ८० हजार लिने गरेको छु । मूर्तीको आकार र बनोटका आधारमा घटीबढी पनि हुने गरेको छ ।” उनी बिहान ७ बजेदेखि साँझसम्म मूर्ती निर्माणमै व्यस्त हुने गरेका छन् । एउटा मूर्ती निर्माण गरिसक्न एक महिनासम्म लाग्ने गरेको उनी बताउँछन् । मूर्ती बनाउनका लागि पनि उनले धेरै मिहिनेत गर्नुपर्छ । माटो खन्ने, मुछ्ने लगायतका काम गर्नुपर्छ । हिलो मैले भएर काम गर्नुपर्छ । शारीरिक श्रम पनि त्यतिकै लगाउनु पर्छ । उनी भन्छन्, “मूर्ती बनाउँदा शारीरिक परिश्रमका साथै मानसिक श्रम पनि त्यतिकै आवश्यक पर्छ । मूर्तीको अनुहारको आकृति, त्यसको भाव पहिरन मूर्तिले व्यक्त गर्न खोजेको सन्देश सबै कुरामा बिचार गरेर बनाउनु पर्छ । मूर्ती निर्माण गर्ने काम हेर्नेका लागि सजिलो होला तर सोचेजस्तो छैन ।” उनले अन्य काममा शारीरिक मानसिक मध्ये एक कुरामा बढी जोड दिनपर्ने भए पनि यस काममा भने दुबै कुरामा बढी जोड दिनपर्ने बताए । लामा भन्छन्, “लक डाउनका समयमा घर परिवारमा गएर बस्न पनि पाइएन यहाँ मूर्तीको माग धेरै आइरहेको छ ।” त्रिवेणीधामकै मूर्ती पनि बनाएर सकिएको छैन । उनी घर गएर बस्नु भन्दा मूर्ती बनाउनमा धेरै आनन्द लागेको बताउँछन् ।
त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपाने पनि हर्क लामाको मिहिनेत र कला देखेर प्रभावित हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “हर्क असाध्यै मिहिनेती छ, म पढेको मान्छे हुँ मैले यस्तो काम गर्नुहुन्न भन्ने भावना उसमा छैन ।” उसले गरेको काम पनि असाध्यै राम्रो भएको न्यौपानेले बताउनुभयो । अहिले समयमा यतिको मिहिनेती मानिस भेट्न गारो पर्ने उहाँको भनाइ छ । त्रिवेणी धाममा अहिले निर्माणको काम चलिरहेको र प्रशस्त मूर्तीहरू निर्माण गर्नुपर्ने भएकोले कम्तीमा ४ वर्षका लागि उनलाई धामले नै काम दिएर राख्ने उहाँले बताउनुभयो । हर्क आफैँले मूर्ती बनाएर बेच्ने काम गर्दैनन् तर मागका आधारमा बनाइदिने गरेका छन् ।