इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मकवानपुरको उत्तरीक्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले संघले इन्द्रसरोवर गाउँपालिकास्थित सहकारीको समेत सहयोगमा ५३ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।
संघको उत्तरपूर्वी क्षेत्र उपसमितिका सदस्य शान्तलाल लामाले स्वास्थ्यकर्मीका लागि प्रयोग गर्न सकिने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहित स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामग्री काठमाडौंबाट खरिद गरिएको बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । यसअघि संघले जिल्लाका अन्य स्थानीय तहलाई पनि नगद तथा जिन्सी सामग्री सहयोग गरेको थियो ।