रगत मानव जीवनको आधार हो । मानिसको शरीरलाई जीवित राख्न र शरीर सञ्चालन गर्न रगत अपरिहार्य हुन्छ । रक्तसञ्चारबिना मानवको जीवन सम्भव छैन । मानव शरीरमा रातो रङको तरल पदार्थको रुपमा रहने रगत रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्स मिलेर बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा अक्सिजन परिवहनमा सघाउँछ भने सेतो रक्तकोषले रोगविरुद्ध लड्ने क्षमता विकास गर्छ । यसैले रगतबिना शरीरमा श्वासप्रश्वास क्रिया हुन सक्दैन । रगतकै सहायताबाट मानिसले श्वासप्रश्वास क्रिया सम्पन्न गर्दछ भने रगतबाट नै शक्ति प्रवाह हुन्छ । आधुनिक चिकित्सामा धेरै विकास भए पनि हालसम्म रगतलाई कृत्रिमरुपमा बनाउन सकेको छैन । कुनै व्यक्तिलाई रगत दिनु परेमा रक्तसमूह मिल्ने अन्य व्यक्तिकै रगत आवश्यक पर्दछ । यसका लागि रक्तदान एकमात्र उपाय हो । रक्तदानले रगतको आवश्यकता परेको व्यक्तिलाई रगत उपलब्ध गराएर उसको जीवन रक्षा गर्न सकिने भएकाले रक्तदानलाई जीवनदान भन्ने गरिएको छ ।
नेपालमा रक्तदानलाई सहजीकरण गरेर रगतको संकलन, भण्डारण र वितरण गर्ने काम नेपाल रेडक्रस सोसाइटीअन्तर्गत्को रक्तसञ्चार केन्द्रले गर्दछ । कसैलाई रगतको आवश्यकता परेमा केन्द्रमा सम्पर्क राखेर रगत प्राप्त गर्न सकिन्छ । तर, यस्ता केन्द्रहरुमा समयसमयमा रगतको अभाव हुँदा बिरामीको उपचारमा जटिलता बन्ने गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा पनि समय समयमा रगतको अभाव हुने गरेको छ । अहिले केन्द्रमा ‘ओ’ र ‘बी’ समूहको रगत अभाव भएको छ । हेटौंडामा ‘बी’ समूहको रगतको माग बढी भए पनि केन्द्रमा रगत नहुँदा समस्या हुने गरेको छ । विभिन्न संघसंस्थाहरुले बेलाबेलामा आयोजना गर्ने रक्तदान कार्यक्रमबाट संकलन भएको रगतलाई केन्द्रले आवश्यकताअनुसार उपलब्ध गराउने गरेको छ । साथै, केन्द्रसँग मौज्दात नभएको समयमा तत्काल रगत आवश्यकता हुँदा केन्द्रको सम्पर्कमा रहेका रक्तदातालाई बोलाएर रक्तदान गराउने गरेको छ ।
मकवानपुरमा दैनिक १५ पाउण्ड रगत आवश्यक पर्ने भए पनि केन्द्रसँग रगत नहुँदा उपलब्ध गराउन नसक्ने अवस्था बनेको छ । प्रत्येक महिना औसत २ सय ५० जनाले रक्तदान गर्ने गरेको भए पनि नियमित रक्तदान गर्नेको संख्या उल्लेख्य नहुँदा रगतको अभाव हुने गरेको छ । मानव शरीरमा पुरानो रगतको क्षय हुने प्रक्रिया नियमितरुपमा भइरहने भएकाले त्यत्तिकै खेर जाने रगत नियमित रक्तदान गर्दा कुनै फरक पर्दैन । स्वास्थ्यसम्बन्धी अन्य कार्यक्रमभन्दा रक्तदान कार्यक्रम आयोजना गर्न, व्यवस्थापन गर्न तुलनात्मकरुपमा सजिलो भएकाले संघसंस्थाहरुले विभिन्न अवसरमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । यसरी गरिने रक्तदानमा आवश्यक समूहको रगत दान गर्ने सम्भावना कम हुन्छ । जसले अनावश्यक समूहको रगत धेरै जम्मा भई नष्ट भएर जाने सम्भावना रहन्छ ।
विभिन्न दुर्घटना, चोटपटक, घाउ, रोग आदिका कारणबाट मानिसको शरीरमा रगतको कमी हुने गर्दछ । यस्तो अवस्थामा तत्काल शरीरमा रगत दिन सकिएन भने मानिसको ज्यानसमेत जानसक्छ । ए, बी, ओ र एबी पोजेटिभ÷नेगेटिभ गरी मानव रक्तसमूह ८ प्रकारका हुन्छन् । प्रत्येक मानिसमा यिनैमध्ये एउटा रक्तसमूह हुन्छ । आफ्ना रगत समूहअनुसारका मेल खाने समूहहरुका रगत उनीहरुमा चढाइन्छ । कतिपय दुर्लभ समूहका रगतको अभाव हुने र चाहिएको समयमा तत्काल रगत उपलब्ध नहुँदा कयौं मानिसले ज्यान गुमाउन परिरहेको यथार्थ विद्यमान छ । आवश्यक समयमा रक्तदान गर्न उचित वातावरण तयार गर्न सकेमा रगतको अभावलाई कम गर्न सकिने सम्भावना रहन्छ । रक्तदान कार्यक्रम आयोजना गर्नेहरुले रक्तसञ्चार केन्द्रसँग समन्वय गरेर जुन समूहको रगत अभाव छ, त्यही समूहका रक्तदातालाई रक्तदानमा प्रोत्साहन गर्नु आवश्यक छ ।