शैक्षिक स्तरीयताको परिभाषा यहाँ उल्लेख गर्न जरुरी महसुस गरिएन । त्यस्तै यस शीर्षकको भूमिका र विशेषता अनि प्रकारबारे पनि ब्याख्याको प्रयत्न होइन । सतहका सन्दर्भसँगै सिधा र प्रतिनिधिमूलक बुँदाहरु मार्फत शैक्षिक स्तरीयताका सवालमा बहसका लागि यो आलेख प्रस्तुत गरिएको छ ।
क) के यी शैक्षिक स्तरीयताका उदाहरण हुन् ?
१. सिट सीमित छ भन्दै प्रवेश परीक्षा लिएर राम्रा विद्यार्थीहरु मात्र भर्नाका लागि छनौट गर्ने ।
२. कक्षा ८ को जिल्लास्तरीय वा स्थानीय तहको परीक्षाको नतिजामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनु ।
३. एसएलसी वा एसईई तथा कक्षा ११ र १२ को परीक्षाको नतिजामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनु ।
४. धेरै तला, दर्जनौं कोठाहरु, ठूला भवन, आकर्षक रंगरोगन देखिने शैक्षिक भवनहरु भएको ।
५. सफा शौचालय र युरोगार्ड सहितको पिउने पानीको व्यवस्था भएको ।
६. अग्लो कम्पाउण्ड र महँगो गेटमा सलाम गर्न आतुर फुर्तिलो सुरक्षाकर्मी सतर्क अवस्थामा रहेको ।
७. आवश्यक खेल मैदानसँगै चिप्लेटी, पिङ, स्विमिङ पुल, लगायतका खेल सामग्रीहरु भएको ।
८. कोर्ट, पाईण्ट, टाई, जुत्तामा सजिएर कम्तिमा दश किलोको स्कूल व्याग बोकेका विद्यार्थी भएको ।
९. कोर्ट, पाईण्ट, टाई, जुत्तामा सजिएर ल्यापटप लिएर मात्र कक्षा जाने शिक्षकहरु भएको ।
१०. शिक्षण संस्था भित्र शिक्षक–विद्यार्थीले अंग्रेजी भाषा मात्र प्रयोग गर्ने गरिएको ।
११. गेटबाट प्रवेश गरेपछि प्रत्येक विद्यार्थी डीआईको कडा अनुशासन अन्तर्गत काँप्दै हिँडेको ।
१२. महिनै पिच्छे कम्तिमा पनि दशौं हजार फी तिर्न अभिभावकहरु तयारी भएको ।
१३. शिक्षण संस्थाको नाममा बढिभन्दा बढि स्कूल बसहरु संचालन भएको ।
१४. विजुली, पंखा, प्रोजेक्टर, सिसि क्यामेरा, सहितको अत्याधुनिक कक्षा कोठाहरु भएको ।
१५. सरकारी तथा गैरसरकारी निकायका उच्च पदस्थ कर्मचारी, शिक्षक, नेता, मन्त्री आदिका छोराछोरीहरुले अध्ययन गर्ने शिक्षण संस्था स्वतः स्तरीय शिक्षाको उदाहरण हुनाले ।
ख. स्तरीय शिक्षा केलाई भन्ने हो ?
१. कुनै पनि मान्छेलाई मान्छे झैं जीवनयापन गर्न गराउन सिकाउने शिक्षा ।
२. नैतिकवान र चरीत्रवानसँगै राष्ट्रभक्त नागरिकको पहिचान कायम गराउने शिक्षा ।
३. रोजगारी खोज्ने चिन्ता पटक्कै नहुने र तत्कालै रोजगारले खोज्दै काममा जोड्ने शिक्षा ।
४. नयाँ, अनौठो र चमत्कारिक आविष्कार तथा खोज अनुसन्धानसँग जोडिएको शिक्षा ।
५. अंग्रेजी भाषामा मात्र कुरा गर्ने र अंग्रेजी भाषाका किताबहरु मात्र पढ्न सिकाउने शिक्षा ।
६. मेडिकल तथा ईन्जिनियरिङ विषयका विधाहरु मात्र अध्ययन अध्यापन गराउने शिक्षा ।
७. विदेशका शिक्षण संस्थाहरुबाट प्रदान गरिने कुनै पनि क्षेत्र तथा विषयको शिक्षा ।
८. गीत, संगीत, खेलकुद, लगायत प्रत्येक विषयमा व्यापक जानकारी र ज्ञान प्रदान गर्ने शिक्षा ।
९. अपेक्षा गरे जस्तै व्यापक पैसा आर्जन गर्न गराउने तरिका तथा विधिहरु सिकाउने शिक्षा ।
१०. विश्वका कुनैै पनि देशमा अध्ययनका लागि पहिलो परीक्षामै मौका प्रदान गर्ने शिक्षा ।
११. पढाईसँग सम्बन्धित कुनै पनि परीक्षामा कहिल्यै फेल नहुने क्याप्सुल खुवाउने शिक्षा ।
१२. बैदेशिक रोजगारीका लागि सहजै मार्ग प्रशस्त गर्ने गराउने शिक्षा ।
ग. के स्तरीय शिक्षाका अभ्यासहरु यी हुन सक्छन् ?
१. आकर्षक र भव्य अनि सुविधा सम्पन्न शैक्षिक भवन, कक्षा कोठा, अत्याधुनिक फर्निचर, प्रयोगशाला, पुस्तकालय, कम्पाउण्ड, खेल मैदान, शौचालय, पिउने पानी, बगैंचा, आदिको व्यवस्था ।
२. अत्याधुनिक प्रविधिमैत्री शिक्षण सिकाईको व्यवस्था ।
३. विषयगत, योग्य, दक्ष, सक्षम, लगनशील र जिम्मेवार शिक्षक प्रशिक्षकहरुको आवश्यक व्यवस्था ।
४. अनुशासित वातावरणमा प्रतिकक्षा बढिमा ४० जना विद्यार्थीहरु मात्र अध्यापन गर्ने गराउने व्यवस्था ।
५. शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिपक्षीय सुमधुर सम्बन्ध, समन्वय, सहकार्य, सद्भाव र सहयोग ।
६. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु तोकिएका आफ्नो भूमिकामा खोटरहित सक्रियता कायम भएको ।
७. ड्रप आउट र कक्षा दोहोर्याउने दर नगन्य अर्थात शुन्य भएको ।
८. छनौट गरेका उत्कृष्ट विद्यार्थी नभई सबै विपन्न, वर्ग, तह, स्तर, भूगोल, वर्ण, जातजातिका विद्यार्थीले शिक्षा आर्जनको समान र सहजै व्यापक अवसर पाएको ।
९. विद्यार्थीले रुची अनुसारका अतिरिक्त क्रियाकलापमा सहभागी बन्ने सहज र पर्याप्त अवसर भएको ।
१०. विद्यार्थीले विषयगत र कक्षागत अनि तहगत सिकाई उपलब्धि हासिल गर्नमा समस्या नभएको ।
११. आवश्यक कर्मचारीहरु जस्तो खेलकुद तथा संगीत शिक्षक, डीआई, लेखा तथा प्रशासनिक कर्मचारीहरु, ल्याव तथा पुस्तकालय हेर्ने कर्मचारी, कार्यालय सहयोगीहरु, नर्स, ड्राईभर, ईलेक्ट्रीसियन, प्लम्बर, सुरक्षा तथा आवासीय गार्ड, आदिको व्यवस्था भएको ।
१२. शैक्षिक क्षति हुन नदिन लिजर पिरियड अन्त्यको आवश्यक व्यवस्थासँगै अतिरिक्त कक्षा गर्ने गरिएको ।
अन्तमा, हाम्रो सन्दर्भको शैक्षिक स्तरीयता कस्तो बनाउने हो र सरकारी नमूना शिक्षण संस्थाहरुमा हामीले चाहेको जस्तो शैक्षिकस्तरीयता पाईन्छ त ? शैक्षिक स्तरीयताका लागि आर्थिक लगानी नै मुख्य कारक हो त ? यी र यस्तै पृष्ठभूमिमा सम्वद्ध पक्षहरुको प्रतिवद्धता अनुरुपको लक्ष्य हासिल गर्ने गराउने सवाल झनै पेचिलो बनेको वर्तमान शैक्षिक स्थितिमा पर्याप्त कानूनी व्यवस्था सहितको आवश्यक संयन्त्रहरु मार्फत प्रभावकारी कार्यान्वयन हाम्रो अपेक्षा हो ।