सिएम रिमाल हेटौंडा

पुस्तक समीक्षा

हो हाँस्दा
दाँत मात्रै देखिन्छन्
न अग्ला छन्
न होचा छन्
न विचारले कुँजिएका छन्
न विचारबाट टाढिएका छन्
हो, मेरा बा यस्ता छन् ।

माता पुण्यशिला श्रेष्ठ र पिता ऋषि के.बी.का जेठा सुपुत्रका रुपमा वि.सं. २०६४ सालमा हेटौंडा जन्मिएका ऋत्विक के.बी.को पहिलो कविता ‘मेरा बा यस्ता छन्’ शीर्षकको कवितांश हो माथिको अंश ।

प्रत्येक मान्छे कुनै न कुनै रुपमा कला, साहित्य, खेल, राजनीति आदिको पारखी हुन्छ । त्यो कला साहित्यले नै उसलाई आफ्नो परिचय दिलाउँछ । अनि कला साहित्यमा हाम फाल्ने व्यक्तिलाई काव्यिक चेतनाको विकास गराउँछ । यही काव्यिक चेतनाको कारणले नै मान्छेले स्वयम्मा मानवता, अनुशासान, हृदयता पनि भेट्न सकिन्छ । गीत, सङ्गीत, कला र साहित्य मार्फत मान्छेले आफ्ना विभिन्न अनुभूतिहरू अभिव्यक्त गर्ने भएकाले मानव सभ्यताको विकाससँगै काव्य विधाको विकास भएको पाइन्छ ।

कविता विचारको पनि अभिव्यक्ति हो । यो स्वस्फूर्त हुन पनि सक्छ नहुन पनि सक्छ, तर विचारको दृष्टिकोणले कविताले मान्छे र मान्छे वाचेको समयलाई प्रतिनिधित्व गर्छ । धेरै जसो मान्छे र मान्छे बाँचेको समयलाई कला र भावको समिश्रणद्वारा अभिव्यक्त गर्न सफल सृजनाहरू नै कालजयी भएका छन् । त्यसकारण पनि आजको साहित्यले समाज, सामाजिक समस्या, मनोविज्ञान, राजनीति र मानवता मात्र हैन प्रेम, यौन, सुन्दरता, प्रकृति र चराचरको वारेमा पनि बोल्नु पर्दछ ।

नेपाली गद्य कविताको श्रीगणेश गोपाल प्रसाद रिमालबाट सुरु भएको मानिन्छ । तत् पश्चात नेपाली कविताको फाँटमा विभिन्न उमेर समूहका कविहरुले धेरै कविताहरू लेखेका छन् । यस्तै कविताको फाटमा सानै उमेरमा नयाँ कविता सङ्ग्रह ‘कोरिएका धर्साहरु’ लिएर आएका छन् कवि ऋत्विक के.बी.।

कविता सङ्ग्रहमा छोटा र लामा गरेर चौबीसवटा कविताहरू छन् । अधिकांश कविताहरु माया प्रेमका छन् । मायामा देखिएका विछोड, मायामा टुसाएका फूलहरुको वयान गरेका छन् । त्यसो त कविता मात्र हैन चित्रमा समेत हात चलाएका के.बी.को यो पहिलो कविता सङ्ग्रह पनि हो । यस कवितामा सङ्ग्रहमा रहेका छोटा र लामा कविता मार्फत कविले आँफू बाचेको युगको बारेमा थोरै कुराहरू सूक्ष्म ढङ्गले अभिव्यक्त गर्न समेत भ्याएका छन् । त्यति मात्र नभएर यो उमेर समूहमा हुने प्रेम वासनाका कुरालाई पनि बढो सुन्दर पक्षबाट पस्केका छन् । उनका कवितामा खासगरी समय चेतना पाइन्छ । जीवनका हरेक पाटाहरूलाई कविता मार्फत उनले मायाको जीवन्त बनाउन खोजेका छन् । भनिन्छ, साहित्य समाजको ऐना हो । यसो पनि भनिन्छ, कविहरूले साहित्यमा प्रतिपक्षको भूमिका निभाउनु पर्दछ ।

समाजमा देखिएका अराजकता, विसङ्गति, भ्रष्टचार, दुराचार, ब्यभिचार, कुविचारलाई काव्यिकरूपमा विभिन्न प्रतीक, विम्ब तथा अलङ्कारको माध्यमद्वारा शसक्त ढङ्गले देखाइदिनु एउटा साहित्यकारको धर्म मानिन्छ । सत्ताको वरिपरि झुम्मिएर लिप्त हुने, भजन गाउने, सत्ताका गल्तीहरूलाई ढाक छोप गरी प्रशंसाको बाँसुरी बजाएर क्षणिक लाभ लिने व्यक्तिहरुको कमी नभएको यो समाजमा शासकवर्गले गरेका गल्तीहरूलाई निर्भीकताका साथ उजागर गर्दै एउटा कविले निभाउनु पर्ने दायित्व थोरै भएपनि सानै उमेरमा बिजारोपण गरेका छन् के.बी.ले । सत्यलाई असत्य भन्ने, देखेर पनि आँखामा पट्टी बाँध्ने र अनवरतरूपमा जुकासरी चुस्न पल्केका मान्छेहरू देखेर कवि वाक्क दिक्क हुन्छन् र कलममार्फत् सचेत गराउनुपर्छ भन्दै लागी परेका छन् ।

राजनीति
कृपावादभन्दा
माथि उठ्न नसक्नेगरी
लडिरहेछ
म हेरिरहेछु
देशलाई
देशमा देश छ कि छैन
खै त कहाँ छ मेरो देश ?

‘मेरो देश’ शीर्षकको कविताका केही अंश हुन् माथिका । यस कविताभित्र राजनीतिक सचेतता र देश प्रेम उनको कवितामा पाइने एउटा विषयवस्तु पनि हो । उनको सानै उमेरको प्रस्तुतिमा बढी निर्भीकता र थोरै भए पनि नयाँ शैली देखिन्छ जुन चाहिँ युवावर्गका लागि पनि बोधगम्य छ । उनका विम्बहरू साधारण मान्छेले पनि बुझ्दछन् ।

कविता सरसर्ती पढ्नु र पढेर ग्रहण गर्नुमा निकै फरक छ । पढेर ग्रहण गर्ने हिसाबले मैले यसलाई आफ्नो बाल्यकालमा पलाएका प्रेमका अङ्कुरण सम्झिरहेको छु । के.बी. आफैँले कोरेको आवरण कला भने निकै सुन्दर देखिन्छ ।

कृतिभित्रका अधिकांश कविताले उनका बाल्यकालमा भएका प्रेमालयलाई यादगर तुल्याएका छन् । किशोर उमेरमा आउने विपरीत लिङ्गप्रतिको आकर्षणको पर्यायवाची अर्थात् शालीन शब्द प्रेम उनका कवितामा जीवन्त बनेर आएका छन् । उनका कविता पढ्ने जो कोही पाठकले आफ्ना विद्यालयीय उमेरका स्मृतिका पाना पल्टिरहेको अनुभूत गर्छन् । मायामा बुर्कुसी मारिरहेका हुन्छन् । प्रेमको निश्वास लिइरहका हुन्छन् । कविताका प्रेमिल विषय वस्तुभित्र आफूलाई समाहित गरिरहेका हुन्छन् । कविताका प्रत्येक अनुच्छेदले तिनलाई तानिरहेको हुन्छ र मग्नमस्तमा चुर्लुम्म डुब्न बेरै लगाउँदैनन् पाठकले ।

कति ठाउँमा कमजोर विम्बहरूको प्रयोगको कारण भने जसरी भाव बोधगम्य हुन सकेको पनि छैन र चिप्लिएका छन् । कविमा शालीनताभन्दा बढी मायामा आक्रोश पोखेको देख्न देखिन्छ । कविको विचारमा आक्रोश जायज नै देखिएला तर आम पाठकले आक्रोष मात्र पढ्दैनन्, त्यसकारण त्यसमा सन्तुलन कायम गर्दै आउँदा दिनहरूमा जीवन दर्शन, मानवीय कोमलता र प्रेमलाई अलि सरल तरिकाले काव्य सृजनामा लागेमा के.बी.को धर्साहरु अझै गहिराइमा पुग्ने छ भन्ने कुरामा कुनै दुईमतै छैन ।