टार्जन कुँवर (दशरथ कुँवर) हेटौंडा

२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि पार्टी नेतृत्वमा जो छन् उनै नेता चुनाव लड्ने गरेका छन् । २०४८ सालदेखिका सबै चुनाव जित्ने मध्ये भाग्यमानी नेता हुन्, प्रधानमन्त्री शेरबहादुर देउवा । ७६ वर्षीय देउवा मंसिर ४ गते भएको निर्वाचनमा डडेलधुराबाट २५ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गरी दोस्रो स्थानमा रहे ।

३० वर्षदेखि डडेलधुरामा देउवाले लगातार सफलता हासिल गरिरहनु भएको छ । एकप्रकारले ठुलो चुनौती पश्चाम पनि देउवा पुनः विजयी हुनु भएको छ । मत परिणाम हेर्दा स्थानीय निर्वाचनदेखि मतदातामा धेरै चेतना जागेको देखिन्छ । मुलुकमा परिवर्तनको लहर सुरु भएको भान हुन थालेको छ । स्वतन्त्रहरूको दबाब सुरु भएको पाइन्छ । जस्तै काठमाडौं र धरानको उदाहरण पनि हेर्न सकिन्छ । स्थानीय चुनावको मत परिणाम हेर्दा पुराना÷ठुला भन्ने पार्टीहरूलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ । सबैभन्दा ठूला जनता हुन् । संविधानविद् भीमार्जुन आचार्य कुनै राम्रो काम नगर्दा पनि एकै व्यक्तिलाई पटक–पटक चुनाव जिताउनु मतदाता माथिकै गम्भीर प्रश्न भएको बताउँछन् ।

‘देश, समाज र राष्ट्रका लागि काम गरेको भए पुरस्कार स्वरूप फेरि ल्यायौ भन्न हुन्थ्यो’, आचार्य भन्छन्, ‘तर, एउटै व्यक्ति पटक–पटक सांसद, मन्त्री र प्रधानमन्त्री बनेका छन् । तर, कार्यसम्पादन निराशाजनक छ । संविधानविद्हरुको विभिन्न संचार माध्यमहरुबाट दिनानुदिन अन्तरवार्ताहरु आइरहेको छ । यतिका धेरै राजनीतिक आरोह–अवरोहपछि पनि मतदान प्रवृत्ति र निर्वाचन परिणाम हेर्दा, नेपाली कांग्रेस प्रत्यक्ष ५७, समानुपातिक ३२ गरी ८९ सिट प्राप्त गरी पहिलो स्थानमा रहन सफल भएको छ । त्यसैगरी नेकपा एमाले प्रत्यक्ष ४४, समानुपातिक ३४ गरि ७८ सिट, माओवादी केन्द्रले प्रत्यक्ष १८, समानुपातिक १४ गरी ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष ७, समानुपातिक १३ गरी २० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष ७, समानुपातिक ७ गरी १४ सिट हासिल गरेको छ ।

जनताले पुनः नेपाली कांग्रेसलाई नै पहिलो स्थान छ । कांग्रेसका राजनीति, नैतिक, वैचारिक र एजेण्डागत संकटहरू अरू दलकै जतिकै गहिरो छ । पार्टीभित्र पनि विभिन्न गुटबन्दी, असमानत रहे तापनि अब देशमा कस्तो सरकार बनाउने, कसरी बनाउने, तालमेल कोसँग गर्ने भन्ने कुरा विचारणीय नै रहेको छ । कांग्रेस ठूलो पार्टी त हो तर सरकार बनाउन भने उसलाई पनि अरु पार्टीहरुको सहयोगको आवश्यकता पर्दछ । ठूलो पार्टी भए पनि सरकार बनाउने चुनौतीलाई कांग्रेसले कसरी सामना गर्छ भनेर जनताले हेर्ने छ । स्वतन्त्र पार्टी/व्यक्तिहरु उल्लेखनीय रुपमा प्रतिस्पर्धामा धेरै अगाडि बढेको मतपरिणामले देख्न पनि सकिन्छ । यदि पार्टीले प्रभावकारी काम गर्न सकेन भने, नेपाली जनताको भावनालाई समेटिएर काम गर्न सकिएन भने भोलिका दिनमा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने दिन पनि आउन सक्छ ।

कांग्रेस पार्टी भित्र पनि एक खालको यूवा जमात अगाडि बढेको छ । नेपाली कांग्रेसबाट संघीय संसदमा प्रतिनिधित्व गरिरहेका सांसद गगन थापाले पनि आफू र आफ्नो पुस्ताले प्रधानमन्त्रीका लागि हस्तक्षेप गर्ने बताएका छन् । कांग्रेस महामन्त्री समेत रहेका नेता थापाले चेन ब्रेक गरेर भएपनि प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने, पार्टीमा नेतृत्व चयन प्रक्रिया र सदस्यता वितरण प्रक्रियालाई समेत परिवर्तन गरी नयाँ ढंगले पार्टी सञ्चालनको तयारी गरिरहेको बताएका छन् । त्यसैगरी पाँच दलीय गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भावी सरकारको नेतृत्व पनि आफैंले गर्ने मनसायमा चुप लागेका देखिए भने गठबन्धनको दोश्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि त्यो आकांक्षा राखेको देखिन्छ । जसको कारणले यी शिर्ष तीन नेता आफूले आफैलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिरहेको देख्न देखिन्छ ।

यसरी उही अनुहार, उही नेता बारम्बार प्रधानमन्त्री हुँदा नेपाली समाज, नेपाली जनताहरुमा निराशा छाएको छ । मत परिणाम हेर्दा पनि थाहा हुन्छ । अरु नयाँ दलहरु पनि पुराना दलहरुलाई चुनौती दिँदै अगाडि बढेको देख्न सकिन्छ । बारम्बार उही नेता नै प्रधानमन्त्री, मन्त्री हुने हो भने नेपाली जनतामा राजनीतिप्रति वितृष्णा, नैराश्यता बढ्न सक्छ । त्यो समाज, राष्ट्रका लागि आत्मघाती हुन सक्छ । त्यसैले समाज राष्ट्रले मनोनयन भएका दल, नेताहरुबाट विभिन्न आशा भरोसा राखेकामा अपेक्षा पूरा भएन भने निराशा बढ्न सक्छ । फलस्वरुप ठूला दल, पटक पटक मन्त्री भैसकेकाहरुको भविष्य समाप्त समेत हुने संकेत देखिन्छ । नेपाली समाजले बारम्बार परिवर्तन खोजिरहेको छ । अब पनि देशको ठूलो दल भएर पनि देश, समाज र जनताको अपेक्षाअनुरुप काम कारवाही तथा घोषणापत्र बमोजिम डेलिभरी दिन नसके नयाँ दल व्यक्तिहरु अगाडि आउने सम्भावना प्रवल हुनेछ ।

कांग्रेसले पाएको मत हेर्दा जनताको भावनालाई आत्मसाथ गर्दै अबको सरकार यूवा पुस्तालाई नै हस्तान्तरण गर्नु पर्ने बाध्यता देखिन्छ । जसले दल पार्टीको फाइदा संरक्षण समेत नभएर सम्पूर्ण देशवासी लगायत जनताहरुको भावना समेतलाई सम्मान पुग्ने देखिन्छ । पटक–पटक प्रधानमन्त्री, मन्त्री भएर पनि देश र नेपाली जनताहरुको इच्छाअनुरुप डेलिभरी दिन नसक्नु नै नेतृत्वमा भएको समस्या हो । फेरी पनि उही अनुहार, उही नेता, उही मन्त्री, उही प्रधानमन्त्री मात्रै भएर बस्ने, यूवा पुस्तालाई अगाडि नसार्ने हो भने पार्टी लगायत सबैजनाले ठुलो क्षति व्यहोर्नु पर्ने छ । हाल केही मात्रामा भएको पनि देख्न सकिन्छ । यूवा नेता त्यही हो, जसमा जोश हुन्छ, ऊर्जा हुन्छ, उत्साह हुन्छ, सकारात्मक चेत हुन्छ, चिन्तन हुन्छ । तीव्रता हुन्छ, गतिशीलता हुन्छ । उही जोश, ऊर्जा, उत्साह, उमंग, सकारात्मक चेत–चिन्तन, तीव्रता र गतिशीलतालाई जनताले एकपटक परीक्षण गर्न चाहेका पनि छन् ।

एउटा गतिलो उदाहरणका लागि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरानका हर्क साम्पाङ हुन् । यस्तैगरी कांग्रेसमा पनि गगन थापा र विश्वप्रकाश शर्मा लगायत थुप्रै यूवा जमात रहेका छन् । यदि यी यूवा पुस्ताहरुले देश चलाउने मौका पाए भने देश र पार्टी दुबैका लागि ठुलो योगदान रहने थियो । पार्टीहरुप्रति वितृष्णा, नेताहरुप्रतिको अविश्वास समेत हटेर जाने थियो । यूवा नेतृत्व किन ? राजनीतिक नेतृत्व, प्रशासन संयन्त्र, प्रहरी, न्यायालय यत्रतत्र सर्वत्र भ्रष्टाचारको जालो मौलाएको छ । भ्रष्टाचारको जालो अन्त्य गर्न माथिबाटै शुद्धीकरणको खाँचो छ । प्रधानमन्त्री, मन्त्री, सचिव, प्रधानन्यायाधीश, प्रहरी प्रमुख, सेना प्रमुख, संवैधानिक निकायका प्रमुख सबैको सामूहिक प्रतिबद्धता र इमानदारिता देखिए भ्रष्टाचार स्वतः कम हुन जान्छ । तर परिणाममा त्यस्तो हुन सकेको पाइँदैन । भ्रष्टाचारका अधिकांश घटना राजनीतिक प्रभाव÷संरक्षण हुने गरेको छ । अधिकारप्राप्त व्यक्ति र संस्थाहरू भ्रष्टाचारको चक्रव्यूहमा परी भ्रष्टाचार झनै संस्थागत हुने गरेको छ । हाम्रो सामाजिक संरचनाले भ्रष्टाचारलाई नै बढवा दिएको देखिन्छ । विशेषगरी गरिबी र पछौटेपनले गर्दा धनप्रति समाजले बढी मान्यता र सम्मान दिने कु–संस्कार बढेको छ ।

नेपालमा भ्रष्टाचार हुनुका विभिन्न कारणहरु दलहरुको आय–व्यय पारदर्शी नहुनु, भ्रष्टलाई राजनीतिक संरक्षण प्राप्त हुनु, भ्रष्टाचार विरुद्धका कानुनहरूको कार्यान्वयन नहुनु, भ्रष्टाचार नियन्त्रणमा संलग्न निकाय क्रियाशील हुन नसक्नु, विद्यमान ऐन–कानुनको पूर्ण पालना नगरिनु, घूस, कमिसन र निजामती प्रशासनमा पारदर्शिता र जवाफदेहिताको बोध नहुनु, कर्मचारी सेवकका रूपमा नभई शासकका रूपमा प्रस्तुत हुनु तथा नैतिकताको ह्रासले मुलुकमा भ्रष्टाचार बढ्दै गएको छ । यी सब समस्याहरुको समाधान अबको यूवा पुस्ताले समाप्त गर्ने प्रचुर सम्भावना र उत्साह समेत रहेको देखिँदा अब पालो यूवा पुस्तालाई नै दिनुपर्ने अति आवश्यक छ । त्यस्तैगरी माननीय डा. सिके राउतले पनि नेशनल न्यूजको एक अन्तरवार्तामा भन्नु भएको थियो गर या मरको समय आएको छ ।

यदि नेपाली समाजको प्रतिविम्वको रुपमा रहेर विजयी उम्मेदवारहरुले काम गर्न सकेनौं भने त्यसको परिणाम स्वयम् भोग्नु पर्ने दिन आउने छ । नेपाली जनताले सजिलै बढारेर फ्याकिदिने छन् । त्यो भनाई दृष्टिकोणले पनि के बुझ्न सकिन्छ भने नेपाली समाज/जनताले परिवर्तन चाहिरहेका छन् । यूवा पुस्ताले अब पनि केही काम गर्ने मौका पाएनन् भने ठूलो दुर्घटना हुने सम्भावना देखिन्छ । जसले देशको लागि ठूलो क्षति पुग्न गई आम नागरिकले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । कांग्रेसको नेतृत्वमा युवाको अवस्था र जनताको इच्छानुसार कार्य सम्पादन गर्न नसकेको अवस्थामा भने कांग्रेसले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ । जनआकांक्षा, जनताको समस्या तथा विकास निर्माणका कार्यमा जनतासँगै हातेमालो गरी, यूवापुस्तालाई जिम्मेवारी हस्तान्तरण गरी अगाडि बढ्न सकेको खण्डमा भविष्य उज्ज्वल देखिन्छ ।