अहिले हेटौंडा अस्पतालको स्वास्थ्य उपचार सेवा सुधार हुँदै गएको छ । अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार सेवा थप गर्दै लगेको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) मातहत हेटौंडा अस्पताललाई ल्याएपछि यसको भौतिक विकास तथा सेवा विस्तार भइरहेको छ । करिब एक वर्षअघि प्रतिष्ठानबाट अस्पताललाई अलग्याउने प्रयास गरिएको भए पनि त्यो सफल नभएपछि अहिले अस्पताललाई प्रतिष्ठान मातहत नै सञ्चालन गरिँदै आएको छ । प्रतिष्ठानले मेडिकल शिक्षाका केही विषयहरुको पठनपाठन सुरु गरिसकेको र एमबीबीएस अध्यापनको तयारी गरिरहेको कारण प्रतिष्ठानमा अध्ययनरत जनशक्तिको प्रयोगात्मक अभ्यास गर्ने थलो बनेपछि अस्पतालको विकास र विस्तार थप हुने निश्चित छ । विगतमा सामान्य रोगको उपचारसमेत हुन मुस्किल भएको अस्पतालमा अहिले धेरै प्रकारका रोगहरुको सहज उपचारका साथै विभिन्न सेवा सुविधा थप हुनु हेटौंडाबासीका लागि खुशीको विषय बनेको छ ।
मंगलबारमात्रै हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सम्झौता भएको छ । मृगौला प्रत्यारोपण र डायलासिस सेवा विस्तारका लागि त्रिपक्षीय सम्झौता भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्रीको उपस्थितिमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पतालमा सेवा विस्तार गर्ने अभियानअनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला प्रत्यारोपणका लागि तत्काल तयारी सुरु गर्ने बताइएको छ । मृगौला प्रत्यारोपन केन्द्र स्थापना गर्न बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८ करोड रुपैयाँ बजेट छुट्याएको छ । हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण र डायलासिस सेवाका साथै एचएलए, सीडीसी क्रसम्याच सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।
दशकौंदेखि सुविधासम्पन्न अस्पतालको अभाव भोगिरहेका हेटौंडाबासीका लागि हेटौंडा अस्पतालको विकास र विस्तारले निकै राहत प्रदान गर्ने निश्चित छ । बागमती प्रदेशको राजधानी भएसँगै हेटौंडामै गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउने सम्भावना बढेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र हेटौंडा अस्पताललाई प्रतिष्ठानको अंग बनाएपछि अस्पतालको सेवा प्रवाहमा सुधार हुँदै गएको छ । यसले अस्पतालप्रति बिरामीको विश्वास पनि बढ्दै गएको छ । प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुका साथै आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आशा गरिएको छ । यसले विगतमा ‘रिफर अस्पताल’को रुपमा चिनिएको हेटौंडा अस्पतालको सुधार, विस्तार र विकासमा ठूलो सहयोग पुग्ने देखिएको छ । जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्ने निर्णयले अस्पतालमा केही शैया बढाउने र केही विशेषज्ञ चिकित्सकको दरबन्दी बढाउने कार्य भए पनि अस्पतालको सेवा सुधार हुन सकेको थिएन ।
अस्पतालको विकास र विस्तारका लागि संघीय सरकारले करिब २८ करोड खर्चेर नयाँ भवन निर्माण सम्पन्न गरेको छ । नयाँ भवनबाट अस्पतालको सेवा सञ्चालन भएसँगै अहिले करिब २ सय बेड सञ्चालन गरेर उपचार सेवा दिन सक्ने अवस्था बनेको छ । यसबीच अस्पतालमा आइसीयू, एचडीयू सेवा भित्रिएको छ । मृगौलाको डायलासिस सेवा थप भएको छ । सिटी स्क्यान सेवा सञ्चालनको तयारी भइरहेको छ । अब मृगौला प्रत्यारोपणसहित डायलासिस सेवा विस्तारसँगै अन्य जटिल रोगको उपचार पनि हेटौंडामै हुनु आवश्यक छ । हेटौंडा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरी अस्पतालको सेवा सुविधा वृद्धि गर्न ढिला गर्नु हुँदैन ।