हेटौंडाः मकवानपुरको स्थानीय तहका वडाध्यक्षहरुका लागि स्थानीय सरकार संचालन र सेवा प्रवाह सम्बन्धी २ दिने अभिमुखिकण सुरु भएको छ । बुधबारबाट जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु भएको अभिमुखिकरणको जिसस मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गर्नुभयो ।
अभिमुखिकरणमा जिल्लाका ६ वटा स्थानीय तहका वडाध्यक्षहरुको सहभागिता रहेको छ । अभिमुखिकरणमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ गाउँपालिका र भिमफेदी गाउँपालिका वडाध्यक्षहरु सहभागी छन् । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका वडाध्यक्षहरुलाई मंसिर २३ र २४ गते अभिमुखिकरण गरिने जनाएको छ ।
अभिमुखिकरणमा सहभागी वडाध्यक्षहरुलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सह–सचिव शिवराम गेलालले प्रशिक्षण गरिरहनु भएको छ । गेलालले पहिलो दिनको पहिलो सत्रमा वडाध्यक्ष काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुभएको छ । यस्तै, उहाँले दोश्रो सत्रमा वडाबाट गरिने सिफारिस सम्बन्धी जानकारी गराउनुभएको छ । अभिमुखिकरणको पहिलो दिन तेस्रो सत्रमा सर्जमिन मुचुल्काको अवधारणा र सर्जमिन मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने विषयहरु तथा चौथो सत्रमा स्थानीय तहको योजना तर्जुमा र कार्यान्वयनमा वडा समितिको भुमिका र उपभोक्ता समिति गठन तथा परिचालन सम्बन्धी विषयमा वडाध्यक्षहरुलाई जानकारी गराइने जनाएको छ ।
जिसस मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको अभिमुखिकरणमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल, सदस्य सुनिता परियार लगायतको आतिथ्य रहेको थियो ।