तुल्सी थापालाई अभिनन्दन गरिँदै ।

हेटौंडाः बुढ्यौली साहित्य समाज मकवानपुरले मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ । शनिबार बुढ्यौली साहित्य समाज मकवानपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा थापालाई नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरेको हो ।

शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याउनुभएका थापालाई मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्तरुपमा अभिनन्दन गरेको हो । बुढ्यौली साहित्य समाज मकवानपुरले तुल्सी थापाको सम्मानमा २ लाख रुपैयाँ बराबरको अक्षयकोष समेत स्थापना गर्ने जनाएको छ । अक्षयकोष स्थापना गरेर बुढ्यौली साहित्य समाजले तुल्सी सरको सम्मानमा साहित्यकारलाई पुरस्कृत गरिने बताइएको छ ।

यस्तै अभिनन्दन ग्रन्थको रुपमा तुल्सी थापाकै विषयमा विभिन्न व्यक्तिले लेख समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ । अभिनन्दन ग्रन्थमा तुल्सी थापाको व्यक्तित्व, कृतित्वका साथै उहाँकै विषयमा तयार पारिएका रचनासहित ३६ वटा लेख समेटिएको छ । तुल्सी थापा शिक्षण सेवाबाट निवृत्त हुनुभएपछि साहित्य लेखनमा क्रियाशील रहनुभयो । उहाँले कविताको फरक उपविधाको रुपमा दाना कविताको विकास गर्नुभयो भने नाटक र कथा विधा पनि सवल रहेको छ ।

बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको आतिथ्य रहेको थियो । हास्यव्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) को विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य विमोचन गरेका छन् । कार्यक्रममा सुदर्शन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले थापाको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।