देशका अन्य जिल्लाभन्दा मकवानपुर जिल्ला बालमैत्री पालिका (स्थानीय तह) घोषणामा निकै अगाडि देखिएको छ । यहाँका स्थानीय तहहरु धमाधम बालमैत्री घोषणा भइरहेका छन् । देशका अन्य स्थानीय तह बालमैत्री घोषणा गर्न असमर्थ भइरहेको अवस्थामा मकवानपुरमा बालमैत्री घोषणाको प्रतिस्पर्धा चलिरहेको छ । बालमैत्री स्थानीय तह घोषणाका लागि तोकिएका सूचक तथा मापदण्ड पूरा भएको भन्दै बालमैत्री घोषणा गर्ने गरिएको छ । संघीय शासन व्यवस्थाको कार्यान्वयनसँगै बनेका ७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म चार वटामात्र बालमैत्री घोषणा भएकोमा तीनवटा मकवानपुर जिल्लाका छन् । बालमैत्री घोषणा गर्ने मकवानपुरको मनहरी गाउँपालिका देशमै पहिलो स्थानीय तह बनेको थियो । मनहरीले आफ्नो पालिकालाई बालमैत्री घोषणा गरेका ३ वर्ष हुन लागेको छ । मकवानपुरकै बकैया र मकवानपुरगढी गाउँपालिका पनि बालमैत्री घोषित भइसकेका छन् । हेटौंडा उपमहानगरपालिका पनि बालमैत्री घोषणाको तयारीमा जुटिरहेको छ ।
बालमैत्री पालिका घोषणाका लागि स्थानीय तहले विभिन्न ५१ वटा सूचक पूरा गर्नुपर्दछ । ५१ वटा सूचकमध्ये १५ वटा संस्थागत विकाससँग सम्बन्धित सूचक छन् । १४ वटा बाल बचाउसँग सम्बन्धित सूचक र १० वटा बाल संरक्षणसँग सम्बन्धित सूचक छन् । यस्तै, बाल विकास र बाल सहभागिता सम्बन्धी सूचकहरु ६–६ वटा रहेका छन् । सबै शिशुहरुलाई पूर्ण स्तनपान गराएको हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको हुनुपर्नेजस्ता सूचकहरु पूर्णरुपमा लागू हुन सजिलो छैन । यसैगरी गर्भवती महिलाले नियमित आइरन चक्की खाएको हुनुपर्ने, कक्षा १ मा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको हुनुपर्ने, बालबालिकालाई भिटामिन क्याप्सुल खुवाएको र सबै किसिमका खोप लगाएको हुनुपर्नेलगायतका सूचकहरु पूरा गर्न चुनौतीपूर्ण छ ।
हेटौंडा उपमहानगरपालिकालाई पनि आगामी एक वर्षभित्र बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी २०८० मंसिरभित्र बालमैत्री पालिका घोषणाको तयारीमा हेटौंडा उपमहानगरपालिकाले काम गरिरहेको भनिएको छ । बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकमध्ये कुनको अवस्था के छ भन्ने लेखाजोखा उपमहानगरपालिकाले गरिरहेको होला । तर, ती सूचकहरुमध्ये बाल संरक्षणसम्बन्धी सूचकभित्र पर्ने बालविवाह, बालश्रम नियन्त्रणजस्ता कुराहरु चुनौतीको रुपमा रहने निश्चित छ । बालमैत्री घोषणा भइसकेका पालिकाहरुमै पनि बालविवाह, बालश्रमजस्ता समस्या अन्त्य हुन नसकेको यथार्थलाई हेटौंडा उपमहानगरपालिकाले गम्भीररुपमा मनन गर्नुपर्छ ।
बालमैत्री पालिका घोषणाका लागि पूरा गर्नुपर्ने कतिपय सूचकहरु हासिल गर्न सहज छैन । बालमैत्री पालिका घोषणा गरिएका मकवानपुरकै स्थानीय तहहरुमा पनि ती सूचकसँग सम्बन्धित कुराहरु पूरा भएको छैन । बालमैत्री घोषणाका लागि हतार गरेर कागजीरुपमा घोषित सूचक पूरा भएको देखाउनुभन्दा वास्तविकरुपमा सूचक पूरा गर्न ध्यान केन्द्रित गर्नु उचित हुनेछ । हेटौंडा उपमहानगरपालिकाले बालमैत्री घोषणामा हतार गर्नुभन्दा सम्पूर्ण नगरबासीलाई सचेत बनाएर व्यवहार परिवर्तन गराउनु आवश्यक छ । बालमैत्री घोषणाका लागि तोकिएका सबै सूचकहरु पूरा गर्न आम नगरबासी र सम्बद्ध पक्षहरु सचेत हुनुपर्छ । उपमहानगरपालिकाले नीतिगत र कानुनी व्यवस्थाहरु लागू गरेर सबै नगरबासीलाई स्वस्फूर्तरुपमा ती सूचकहरु कार्यान्वयनका लागि प्रेरित नगरेसम्म बालमैत्री घोषणा चुनौतीपूर्ण हुनेछ ।