हेटौंडाः मकवानपुरगढी गाउँपालिकाबाट पछिल्लो ६ महिनामा ३ करोड रुपैयाँको गोलभेँडा बिक्री भएको छ । गत असार महिनादेखि मंसिरसम्म गोलभेँडा खेतीबाट किसानले ३ करोड रुपैयाँ आम्दानी गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा सय जना किसानहरुले एकसय हेक्टर क्षेत्रफलमा गोलभेँडा खेती गरेको गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । अहिले दैनिकरुपमा गढीमा उत्पादन भएको गोलभेँडा हेटौंडा बजारमा बिक्रीका लागि आउने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाले तरकारी खेती बिस्तारका लागि अनुदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
पशुपालनमा अगाडि रहेको गाउँपालिका अहिले व्यावसायिक तरकारी खेतीतर्फ पनि अगाडि रहेको छ । मकवानपुरगढी गाउँपालिकाले कृषिलाई प्राथमिकता दिई कृषिबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको जनाइएको छ । अव्यवस्थित चुरे र पहाडी विशेषता बोकेको गाउँपालिकामा भौगोलिक बनावटको आधारमा कृषि कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा ४ सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक ६ हजार ५ सय मेट्रिकटन तरकारी उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा २० जना किसानले २७ वटा, २ मा २० जना किसानले १ हजार ९ सय वर्गमिटर क्षेत्रफलमा १ सय १९ वटा, वडा नम्बर ३ मा १७ जना किसानले ६० वटा र वडा नम्बर ४ मा २३ जना किसानले ३५ वटा, वडा नम्बर ५ मा २८ जना किसानले ३१ वटा टनेल निर्माण गरी खेती गरिरहेका छन् । यस्तै, वडा नम्बर ६ मा २१ जना किसानले १ सय ५ वटा, वडा नम्बर ७ मा ६६ जना किसानले एक सय वटा र वडा नम्बर ८ मा ८२ जना किसानले गरी जम्मा ३ सय ५३ वटा टनेल निर्माण गरी तरकारी खेती गरिरहेको गाउँपालिका कार्यालयले जनाएको छ । किसानहरुले हाल दैनिक ३ देखि ५ लाख रुपैयाँसम्मको गोलभेँडा बिक्रीका लागि हेटौंडा बजार ल्याउने गरेका छन् । मकवानपुरगढी गाउँपालिकामा उत्पादित गोलभेँडा हेटौंडा बजारबाट छिमेकी जिल्लाहरुमा समेत पठाइने गरिएको छ ।
गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको कृषि अधिकृत चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टनेल कृषिमा उत्पादन पनि राम्रो छ । उत्पादन राम्रो भएपछि किसान पनि आकर्षित भएका छन् ।” गाउँपालिकाले किसानका लागि प्राविधिक सहयोग गरिरहेको छ । तरकारी खेती बिस्तारका लागि गाउँपालिकाले यो वर्ष पनि ५ लाख रुपैयाँ छुट्याएको उहाँले बताउनुभयो ।
यस्तै, मकवानपुरगढी गाउँपालिकामा २ सय रोपनीमा फापर खेती गरिएको छ । उत्पादित फापरलाई सहकारीमार्फत् संकलन गरी बिक्री गर्न गाउँपालिकाले समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फापर अहिले काट्ने बेला भएको छ । किसानहरुले धमाधम फापर काट्न सुरु गरेका छन् । व्यक्तिगतरुपमा बिक्री गर्दा किसानले कम मूल्य पाउने र बिक्री गर्न पनि समस्या हुने भएकाले गाउँपालिकाले सहकारीमार्फत् बिक्री गर्न समन्वय गरिरहेको छ ।”