हेटौंडा–४, कर्रास्थित श्रमिक माविले गत शुक्रबार विद्यालयको जुनियर रेडक्रस सर्कल र विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन चयनका लागि निर्वाचनको प्रक्रिया अपनायो । हालै प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका गतिविधि देखे, बुझेका विद्यार्थीलाई आफ्नै प्रतिनिधि छान्नका लागि निर्वाचन आयोगले जस्तै विधि, प्रक्रिया र सामग्री उपयोग गरी निर्वाचन सम्पन्न गर्यो । निर्वाचनबाट विद्यालयको क्याप्टेनको रुपमा निर्वाचित कक्षा–९ का विद्यार्थी आलोक कुमार राम र भाइस क्याप्टेनमा सर्वसम्मत निर्वाचित कक्षा–८ की विद्यार्थी प्रगति मालीसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
विद्यालयले गरेको निर्वाचन प्रणालीबाट के कस्तो कुराहरु सिक्नुभयो ?
प्रगतिः मलाई पहिले भोट कसरी हाल्ने भन्ने कुरा थाहा थिएन तर अहिले भोट हाल्न, मतपत्र पट्याउन लगायत धेरै कुराहरु सिक्ने मौका पाएँ ।
तपाई भाइस क्याप्टेनमा सर्वसम्मत चयन हुनुको कारण के हो ?
प्रगतिः सबैजनाले क्याप्टेनका लागि मात्र उम्मेदवारी दिए । तर भाइस क्याप्टेनका लागि मैले बाहेक कसैले उम्मेदवारी दिन चाहेनन् । त्यसकारण म सर्वसम्मत चयन भएँ ।
तपाईलाई क्याप्टेनमा चयन गर्नुको कारण के–के हुन् ?
आलोकः म सानो कक्षाका भाइबहिनी तथा ठूलो कक्षाका दाईदिदीहरु लगायत सम्पुर्ण साथीहरुको माझमा परिचित छु । म सबैको अगाडि बोल्न नडराउने, सबैको समस्या बुझ्न सक्ने र विद्यार्थीको समस्या प्रशासनसम्म पुर्याउन सक्ने भएकोले सबैले मलाई भोट हालेर चयन गर्नुभएको हो ।
अहिले विद्यालयमा तपाईले पहिचान गर्नुभएको समस्याहरु के–के छन् ?
आलोकः हाम्रो विद्यालयमा अहिले खेल मैदानको अभाव छ । खेलकुदको सामग्रीहरु पनि पर्याप्त छैन । विद्यालयको वरिपरि बगैचाको आवश्यकता देख्छु ।
भाइस क्याप्टेनको भूमिका के–के रहन्छ ?
प्रगतिः मेरो प्रमुख भूमिका क्याप्टेनले गरेको राम्रो काममा सहयोग गर्ने, क्याप्टेनको अनुपस्थितिमा क्याप्टेनको जिम्मेवारी सम्हाल्ने, विद्यार्थीको पढाइसँग सम्बन्धित समस्याहरुको सहजीकरण गर्ने, विद्यार्थीको समस्या प्रशासनसम्म पुर्याउने आदि हुन् ।
तपाईको विद्यालयमा अतिरिक्त क्रियाकलापहरु अन्तर्गत के कस्ता क्रियाकलापहरु हुने गर्दछ ?
आलोकः हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलापहरु अन्तर्गत प्रत्येक शुक्रबार हाजिरीजवाफ, वक्तृत्वकला लगायत अन्य क्रियाकलापहरु भइरहन्छ ।
विद्यालयले थप कस्तो–कस्तो अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिदियोस् भन्ने लाग्छ ।
आलोकः मेरो विचारमा विद्यालयले विद्यार्थीको रुचि तथा चाहना अनुसार फुटबल, भलिबल, कराते, व्याडमिन्टन, टेबल टेनिस लगायत अन्य क्रियाकलापहरु पनि सञ्चालन गरिदियोस् जस्तो लाग्छ ।
विद्यार्थीका विषयमा शिक्षकहरुले कत्तिको चासो दिइरहनुभएको छ ?
प्रगतिः शिक्षकहरुले हाम्रो बारेमा एकदम धेरै चासो लिइरहनुभएको हुन्छ । हामीले नबुझेका कुराहरु दोहोर्याई/तेहेर्याई बुझाउनुहुन्छ । हामीलाई गाह्रो लागेको विषयको कोचिङ क्लास लिनुहुन्छ ।
विद्यालयमा अभिभावकको उपस्थिति कस्तो छ ?
आलोकः हाम्रो विद्यालयमा अभिभावकको उपस्थिति भने न्यून देखिन्छ । अभिभावकहरु सचेत नहुनुभएका कारण आफ्ना बाबुनानीको पठनपाठन कस्तो छ भनेर कमै चासो देखाउनुभएको जस्तो लाग्छ ।
अभिभावकहरुको आफ्नो बालबालिकाको पढाइप्रति चासो नगर्नुको कारण के हो ?
आलोकः मेरो विचारमा शिक्षा र चेतनाको अभावले गर्दा अभिभावकहरुले आफ्नो बालबालिकाको पढाइप्रति कम चासो भएको जस्तो लाग्छ । अभिभावकहरुको मानसिकता बालबालिकाको पढाइप्रति चासो राख्ने काम शिक्षक र विद्यालयको मात्र हो भन्ने छ । तर बालबालिकाको पढाइ, भविष्य लगायत सबै ठाउँमा शिक्षकको मात्र नभई अभिभावकको पनि त्यत्तिकै भूमिका हुनुपर्छ ।