हालै सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैछ । निर्वाचनमा प्रकट भएको मतलाई लिएर आमरुपमा विश्लेषण भइरहेको छ । यसैसन्दर्भमा मकवानपुर जिल्लाका विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग यस पटकको निर्वाचनमा नागरिक सहभागिता र सार्वजनिक भइसकेको मतपरिणामलाई कसरी विश्लेषण गर्न सकिन्छ ? आगामी राजनीतिक अवस्था कस्तो हुने देख्नुहुन्छ ? भनी राखिएको जिज्ञासामा प्राप्त प्रतिक्रिया यहाँ प्रस्तुत गरिएको छ ।
निर्वाचन अघि र निर्वाचनपछि पनि नागरिकको सघन सहभागिता रहने अवसर हो । युवा पुस्ताले सामाजिक सञ्जालमा राजनीतिक गतिविधिमा उल्लेख्य सहभागिता जनाएको देखिन्छ । देशव्यापीरुपमा निर्वाचनको परिणाम सार्वजनिक भइरहँदा निक्कै उतारचढावपूर्ण स्थिति देखिएको छ । सार्वजनिक भएका नतीजाहरुलाई हेर्ने हो भने कतिपय अपेक्षित जस्तो देखिन्छ भने कतिपय अनपेक्षित र आश्चर्यजनक जस्तो समेत देखिन्छ । यस पटकको नतीजाले आशा गरिएका युवा राजनीतिज्ञको हस्तक्षेपले आगामी दिनको राजनीति सकारात्मक दिशामा अग्रसर हुने अपेक्षा गर्न सकिने देख्छु ।
निर्वाचन लोकतन्त्रको आत्मा हो । आवधिक निर्वाचनले आम जनतालाई विभिन्न दल र दलले प्रस्तुत गरेका वा स्वतन्त्ररुपमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरु मध्येबाट उत्कृष्ट विकल्प छनौटको अवसर प्रदान गर्दछ । यो नै लोकतन्त्रको सुन्दरता हो । सार्वभौमसत्ता जनतामा निहित हुनुको प्रमाण पनि यहि नै हो । यद्यपि निर्वाचनमा हुने दलहरु बीचको अस्वभाविक साँठगाँठले ले मतदातालाई छनौटको विकल्प सीमित गराईदिएको छ । यो सरासर दलहरुले सिर्जना गरेको सिन्डिकेट हो ।
आफ्नो आस्थाको पार्टीले उत्कृष्ट उम्मेद्वार नदिँदा र आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपाउँदा, बारम्बार एउटै उम्मेदवार दोहोरिँदा, आधुनिक संसारसँग तादम्यता मिलाउन नसक्ने र भावी योजना नै नभएका वृद्ध नेताहरुको उम्मेदवारीको कारण पनि जनतामा यसपटकको चुनावमा खासै उत्साह देखिएन । जति पहिला देखिन्थ्यो । त्यसैले पनि जनताले यसपटक परम्परागत दलहरुलाई झकझकाउने गरी आफ्नो मत संकेत गरेको देखिन्छ । विशेषगरी दलभित्रका यूवालाई र परम्परागत दलबाहिरका “कुशासन र विसंगति विरुद्ध विद्रोही र पपुलिस्ट नारा” दिनेहरुलाई आफ्नो रोजाईमा राखे जनताले ।
आवधिक निर्वाचन विगतका त्रुटी सच्याउने र तुलनात्मकरुपमा खराबलाई पन्छाउँदै असललाई भित्र्याउँदै लोकतन्त्रको जग बलियो बनाउने कडि पनि हो । यो पटकको निर्वाचनले ब्रेक थ्रु दिने निश्चित छ । २०७९ को यो निर्वाचनले एकल मनोवादमा अल्झिएका राजनीतिक दललाई मात्र होइन समग्र नेपाली राजनीतिलाई सही दिशामा डो¥याउनेमा भने आशावादी हुन सकिन्छ ।
मतदाताले पुराना दललाई सचेत गराउन खोजेको र सक्षम देखिएको विकल्पलाई परीक्षण गर्न खोजेको देखिन्छ । कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत नपाउने निश्चित प्रायः देखिन्छ । यस्तो अवस्थामा दलहरुले कस्तो राजनीतिक आचरण प्रस्तुत गर्छन् भन्ने कुराले अबको राज्य संचालनलाई निर्दिष्ट गर्नेछ । यसपालिको मतदानको ढाँचाले दलहरुलाई फेरि पुरानै फोहोरी सत्ताको खेलमा रुमल्लिनबाट निरुत्साहित गर्नेछ भन्ने आशा लिएको छु ।
यसपटकको निर्वाचनमा मतदाताको मतलाई हेर्दा पुराना दल भन्दा पुरानो नेतृत्वप्रति नागरिकको असन्तुष्टि देखियो । जो सत्तामा पुगे पनि आफ्ना दुःख आफैसँग हुने भएपछि नागरिकले निर्वाचनलाई महत्व नदिएको देखियो । मतपरिणामले सत्तामा नयाँ शक्ति र पुस्ताको उपस्थिति प्रभावकारी हुने देखिन्छ । जनमतलाई ध्यान दिएर काम गर्नुपर्छ भन्ने सन्देश पनि पाउन सकिन्छ । अर्को निर्वाचनमा जनताले फोहोरी राजनीतिलाई धेरैहदसम्म सफा गर्ने गरी मत प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ ।
मतकै विश्लेषण गरिहाल्नु अझै पनि हतारो नै होला । मकवानपुर जिल्लाको सवालमा, जुन हिसाबले मत प्रकट भएको छ अहिलेसम्मको मतलाई हेर्ने हो भने तीनवटा मुख्य विषय अब बहसमा ल्याउनु पर्ला जस्तो लाग्छ । पहिलो, मत जसरी खसेको छ (ज–जस्लाई खसेको भएपनि) त्यो हेर्दा नयाँ भन्ने धङ्धङिले अहिलेका दलहरुको मतलाई असर गरेको देखिन्छ । यसको सकारात्मक पक्ष नयाँले अवसर पाउने मात्रै होइन संसदीय अभ्यास र राजनीतिमा नयाँ धार बन्छ भन्ने हो ।
दोस्रो, विश्लेषक केशव दहालले लेखेको पढेथेँ कतै “स्वर्ग जान, नर्कको बाटो ?” पुगिन्न । मेरो विचारमा अहिलेको दलहरुप्रतिको बितृष्णा कतै हामी अग्रगमनको बाटो भन्दा पश्चगामी बाटो समात्दै त छैनौं ? नयाँ आएका दलहरुको प्रष्ट राजनीतिक बाटो देखिएको छैन । त्यसैले अहिलेको परिणाम झन गन्जागोल पो हो कि त ? प्रश्न रहिरह्यो । तेस्रो, संगठित संरचनाले नै हो नीतिगत रुपमा देश चलाउने । असंगठित राजनीतिक समुहले त्यो काम गर्न सक्दैन । अहिलेको चुनावमा “राष्ट्रिय स्वतन्त्र पार्टी” ले वडा तहसम्म त्यो बनाउन जरुरी छ । हाम्रो व्यवस्थामा त्यो अनिवार्य नै हो त्यसैले अहिले देखिएको चुनावी परिवर्तन प्राविधिक नहोस् भन्ने हो । झ्वाकको राजनीति झन दीर्घकालीन असर गर्ने खालको हुनेछ ।
समग्रमा अहिलेसम्मको चुनावी परिणाम हेर्दा “लिवरल राजनीतिक व्यवस्था” जनचाहना देखिएको छ । समयको माग र भुगोल अनुसार, पछिल्लो कोरोना संक्रमणसँगै रुस–युक्रेन युद्ध, भारत–चीन बाहेक अमेरिकी बढ्दो चाहनाले पनि त्यही बताउँछ । निर्वाचन त प्राविधिक र बहुमत ल्याउनेको पक्षमा हो । अबको राजनीति अंकगणित मै चल्ने हो । दल १, २, ३ जो सरकारमा होउन ।