हेटौंडाः कतारमा जारी २२ औं संस्करण विश्वकप फुटबलमा आज मंगलबार चार खेल हुँदैछ । समूह “सी” र समूह “डी” को समान दुई खेल हुँदैछ । पहिलो खेलमा समूह “सी” मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे लुसैल रंगशालामा सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६ः४५ बजे एजुकेशन सिटि रंगशालामा सुरुवात हुनेछ । यसैगरी तेस्रो खेलमा समूह “सी” मा रहेको पोल्याण्ड र मेक्सिकोबीच भिड्नेछन् । उक्त खेल राति ९ः४५ बजेदेखि रस अबौ अबौड रंगशालामा सुरु हुनेछ ।

त्यस्तै आज हुने चौथो खेलमा समूह “डी” मा रहेको फ्रान्सले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । खेल राति १२ः४५ बजे एल जनौब रंगशालामा सुरु हुनेछ । त्यस्तै हिजो भएको समूह “बी”को खेलमा अमेरिका र वेल्सबीच १—१ गोलको बराबरी भएको थियो ।