सहयोग संकलनको कार्यमा सहभागी हुँदै विद्यार्थी र अभिभावक ।

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलले विद्यार्थीको अग्रसरतामा सामाजिक सेवाको कार्य गर्न त्रिपक्षीय सहकार्यको प्रयास थालेको छ । विद्यालयका पूर्वविद्यार्थीसहित अध्ययनरत विद्यार्थीको समूह, विद्यालय प्रशासन र सामाजिक संस्थाबीच त्रिपक्षीय सहकार्य रहने गरी सामाजिक सेवाको कार्य सुरु गरिएको विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठले जानकारी दिनुभएको छ ।

विद्यार्थीलाई सामाजिक सेवाप्रति आकर्षित गर्न, सामाजिक संस्थासँग समेत सहकार्य गरी समुदायमा परिचालित गर्न यस किसिमको प्रयास गरिएको उहाँले बताउनुभयो । पूर्वविद्यार्थीलाई समेत समेटेर विद्यालयले बालजागृति सामाजिक सेवा क्लब गठन गरेको हो । क्लबलाई शिक्षिका शर्मिला अधिकारीले सहजीकरण गर्नुहुनेछ । सामाजिक सेवाको क्षेत्रमा क्रियाशीलताको सुरुवातमा मकवानपुरको भीमफेदी गाउँपालिका–१, किसेडीस्थित दीपक आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने तयारी सुरु गरिएको सहायक प्रिन्सीपल श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयले सोमबारबाट सहयोग संकलन सुरु गरेको छ । सहयोग संकलनको कार्य मंसिर १४ गतेसम्म जारी रहनेछ । विद्यार्थी, अभिभावक, सहकार्य गर्ने सामाजिक संस्थाबाट संकलित जिन्सी तथा नगद सहयोगमा विद्यालयले पनि थप सहयोग गर्नेछ । मंसिर १६ गते विद्यालयमै पुगेर विद्यालयका १ सय २६ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गर्ने तयारी भएको विद्यालयका सहायक प्रिन्सीपल अमुल श्रेष्ठले जानकारी दिनुभयो । बालजागृतिले सामाजिक सेवाका लागि रोट्र्याक्ट क्लब अफ हेटौंडा र लियो क्लब अफ मकवानपुर डायमण्डसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।