लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा रहेको आवधिक निर्वाचन संघारमा छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत् मतदान सम्पन्न हुन एकसाता पनि बाँकी छैन । मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु सक्रिय बनिरहेका छन् । निर्वाचन प्रचारप्रसारका लागि ठूला राजनीतिक दल र तिनका उम्मेदवारहरु सभा तथा घरदैलोमा व्यस्त छन् । नयाँ तथा साना दलबाट उम्मेदवारी दिएका र स्वतन्त्र उम्मेदवारहरु मतदातासँग घरदैलोमा भेटघाट गर्न व्यस्त छन् । निर्वाचनको लागि प्रचारप्रसार गर्ने दिन सकिनै लाग्दा उम्मेदवारको प्रचारप्रसार कार्यक्रमलाई लक्षित गरी अवरोध तथा आक्रमणको प्रयास हुन थालेको छ । चुनावी माहोल तातिँदै गएको अवस्थामा यस्ता घटनाले उमेदवारको सुरक्षामा चुनौती बन्न सक्छ ।

विगतका चुनावहरुमा जस्तो गम्भीर प्रकारका हिंसात्मक घटना यस पटकको चुनावमा भएका छैनन् । केही साना राजनीतिक दलहरुले चुनाव बहिस्कारको नाममा सामान्य सचेतनामूलक कार्यक्रम गरिरहेको भए पनि उनीहरुले निर्वाचनलाई बिथोल्ने गतिविधि गरेका छैनन् । उम्मेदवारको प्रचारप्रसारमा पनि उनीहरुले कुनै अवरोध गरेका छैनन् । तर, चुनावमै सहभागी भइरहेका राजनीतिक दलहरुबीच नै निर्वाचनको विषयलाई लिएर छिटपुट सामान्य खालका हिंसात्मक घटनाहरु भएका छन् । यस्ता घटनाले चुनावलाई खासै प्रभाव नपारे पनि उम्मेदवारको सुरक्षामा चुनौती बन्न सक्नेतर्फ सम्बद्ध राजनीतिक दल तथा सुरक्षा निकाय गम्भीर बन्नुपर्छ । उम्मेदवार र उनीहरुको प्रचारप्रसारलाई लक्षित गरी अवरोध गर्न खोज्नु, तोडफोडमा उत्रनु वा हातपात हुँदा निर्वाचनमा उम्मेदवारको सुरक्षा चुनौती बन्नसक्छ ।

करिब एक साताअघि मकवानपुरको हाँडीखोलामा सत्ता गठबन्धनले चुनावी सभा गर्ने क्रममा गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपातको प्रयास भयो । आइतबार चितवनको मुग्लिननजिक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको प्रचारमा हिँडेको गाडीमा आक्रमण गरियो । सत्ता गठबन्धनका कार्यकर्ताले प्रहरीकै सामुन्ने गाडीमा चढेर सीसा फुटाएका थिए । आइतबार नै दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप भएको छ । सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा परी दुई जना घाइते भएका छन् । उक्त घटनापछि सत्ता गठबन्धनले सडक अवरुद्ध गरेको छ । यस्तै, सोमबार गोरखामा एमालेका कार्यकर्ताले एमालेकै नेतालाई कुटेका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताभित्र रहेर चुनावी प्रचारप्रसार गर्न कसैलाई कुनै अवरोध गरिनु हुँदैन । निर्वाचनमा उम्मेदवार बन्ने अधिकार प्रत्येक नेपाली नागरिकलाई छ । यस्तै, कुन उम्मेदवारलाई आफ्नो मत दिने स्वतन्त्रता पनि हरेक नागरिकमा हुन्छ । निर्वाचनमा सहभागी भएका राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचनमा सहभागी हुन आम मतदातालाई उत्प्रेरित गर्नुपर्छ । कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई लक्षित गरेर अवरोधका प्रयासहरु हुनुहुँदैन । कुनै पनि उम्मेदवार वा नेता, कार्यकर्तामाथि हातपात हुनु हुँदैन । निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत बनाउन सबै राजनीतिक दल, उम्मेदवार एवम् सम्पूर्ण नागरिक जिम्मेवार बन्नुपर्छ । निर्वाचनविरोधी र उम्मेदवारको सुरक्षामा चुनौती हुने हिंसात्मक घटना हुन नदिन सुरक्षा निकाय चनाखो बन्नुपर्छ । निर्वाचनविरोधी यस्ता घटनामा संलग्नलाई कानुनी कारबाही गर्न प्रहरीले सक्रियता देखाउनुपर्छ ।