हेटौंडाः मकवानपुरको मकवानपुरगढी–६ मा खोरको ७ वटा बाख्रा बाघले खाइदिएको छ । शनिबार राती बाघले बाख्रा खाइदिएको भनी जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिव सापकोटाले जानकारी दिनुभयो । स्थानीयले बाघले खोरको बाख्रा खाइदिएको भने पनि बाघले त्यसरी बाख्रालाई आक्रमण नगर्नुपर्ने अनुमान गरिएको सापकोटाले बताउनुभयो ।
स्थानीयको जानकारीपछि डिभिजन वन कार्यालय हेटौंडाले मकवानपुरगढी–६ मा क्यामरा जडान गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जस्थित जियोलोजिकल सर्भे अफ लण्डनबाट क्यामरा ल्याएर जडान गरिएको डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख सापकोटाले जानकारी दिनुभएको छ । यसअघि बाघको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका–१, भैरवडाँडा क्षेत्रमा पनि बाघले बाख्रा र बाछो खाएको थियो ।
बाघको आक्रमणले भैरवडाँडा क्षेत्रमा बाख्रा र बाछो खाएको भनी जानकारी प्राप्त भएपछि डिभिजन वन कार्यालय राप्ती मनहरीले क्यामरा जडान गरेको थियो । जडान गरिएको क्यामराले पाटे बाघ वन क्षेत्रमा विचरण गरिएको दृश्य कैद भएको वन अधिकृत सापकोटाले जानकारी दिनुभयो । यसअघि भैरवडाँडाका स्थानीय दुई वटा डमरुसहित बाघ देखिएको भने पनि भैरवडाँडामा जडान गरिएको क्यामराले भाले बाघको दृश्य कैद गरिएको वन अधिकृत सापकोटाले जानकारी दिनुभयो ।
वन क्षेत्रमा बाघको उपस्थिति र पशुचौपायामाथि आक्रमणका घटनाले स्थानीय त्रसित छन् । पशुचौपायामाथि आक्रमण गर्ने बाघको आक्रमणबाट मानवीय क्षति हुने त्रासमा स्थानीय छन् । डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख शिव सापकोटाले वन्यजन्तुको आक्रमणबाट पशुचौपायामा भएको क्षतिको राहतका लागि पर्सा राष्ट्रिय निकुञ्जमा सिफारिस गरेर पठाइने जानकारी दिनुभएको छ ।