नवीन चेतना र मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी लेखिएको “फरक आकाश“ कथा संग्रह मकवानपुरे वरिष्ठ साहित्यकार तुल्सी थापाद्वारा लिखित कृति हो । मकवानपुरकै परिवेशमा सजिएको प्रस्तुत कथा संग्रहमा अरुले देख्नै नसकेका स–साना विषयवस्तु र पछाडि पारिएका वर्गलाई पात्र बनाइएको पाइन्छ ।
जीवनप्रतिको सकारात्मक चिन्तन र अध्यात्मको मिश्रण पनि पाइन्छ । कथामा कतै न कतै कथाकारको आदर्श विचार र मूल सन्देश चाहिँ प्रसारित भएको पाइन्छ । “एक बोझिल बिहान“ कथामा भने हर्कमानले जीवनको अनुभवबाट गम्भीर दर्शन प्रस्तुत गरेका छन् । फोहोर गर्नेहरु फोहोरी हुन्, फोहोर सोहोर्नेहरु फोहोरी हैनन् । गरिबी झन् बढी फोहोर हो । (एक बोझिल बिहान, पेज नम्बर ९) “एउटा फरक आकाश“ कथामा शिरु प्रधानले पुरुषप्रति घृणा भाव राखेर बिवाह नगर्ने तर पालुङका विष्टकाजीबाट सन्तान जन्माउन चाहेकी तर पत्नीत्व भने स्वीकार्न नचाहेर आमा बनेर पूर्ण रुपमा महिला बन्न चाहेर साहसिलो तर्क प्रस्तुत गर्दछिन् । यसरी विष्टकाजी भने असाधारण पात्रको रुपमा देखा पर्दछन् । उनले एक सन्तानको मात्र आमा नभई टुहुरा बालबालिकाहरुको आमा बन्न आग्रह गरी शीरुको प्रस्ताव नमानेर महानता प्रकट गर्छन् ।
उनले होटलमा काम गर्ने चिन्टुलाई छोरा बनाइन् । कथाभरि छोटिलो संवाद भेटिन्छ । “उन्मुक्तिको जेल यात्रा“ कथामा निर्दोषहरु जेलमा परेका र उनीहरुको दर्दनाक बसाई स्थितिलाई देखाइको छ । बिमलले सरल व्यवहारका साथ जेलमा भएकाको स्थिति सुधारेका छन् । जेलको सुधार गरेका छन् । त्यहाँ बाहिर एउटा महाजेल छ (घमण्डको, इस्र्याको, आक्रोशको, जालझेलको, झैझगडाको, प्रलोभनको ।। (उन्मुक्तिको जेल यात्रा, पेज नं. १४१)
माथिका यी त भए प्रतिनिधि कथा मात्र । यस कथा संग्रहमा रहेका ११ वटा नै कथाहरू सशक्त छन् । अमूर्त विषयवस्तुको प्रयोग र स्वैरकल्पना व्यापकता साथै प्रतिकात्मक भाव समेटिएको संग्रहमा गहनता बढी पाइन्छ । कौतुहलताको प्रचुरता र पात्रहरुको सजीव चित्रणले कथा संग्रहलाई जिवन्त बनाएको छ । भुइँ मान्छेको दुस्ख, गरिबीले आक्रान्त परिवेश, बन्द हड्तालले देशको प्रगति हुन नसकेको यथार्थ र देश नै नभएको अनुभुति पात्रहरुमा देखा पर्छ । साँच्चै त्यहाँ प्रयोग भएका पात्रहरु यथार्थको धरातलमा बहेका छन् । मानवीय समवेदना र कर्तव्यलाई एकसाथ कथाकारले प्रस्तुत गर्नु भएको पाइयो । आशा र विश्वासको गीतजस्तो पनि लाग्छ । कतै जीवनको गम्भीरतासमेत समेटेर भावुक बनाउँदै पाठकको हृदयमा कथानक र घटनाले हान्ने प्रयास भएको छ । पात्रहरु मस्तिष्कमा सलबलाएका छन् । यसर्थ कथा संग्रहले जीवनको साङ्गोपाङ्गोलाई सपाट ढङ्गमा सविस्तार वर्णन गरेको पाइन्छ ।
तेजिलो जीवनबोध दिन सक्ने प्रस्तुत संग्रह नेपाली कथाको दरिलो प्रमाण हो । ओझेलमा परेको यो संग्रहको व्यापक अध्ययन र चर्चा हुनु जरुरी छ । नवीन शैली र प्रयोगका कारणले यो संग्रहले नेपाली समकालीन कथा लेखनको क्षेत्रमा छुट्टै स्थान प्राप्त गरेको छ भन्ने मेरो ठम्याइ हो । उहाँको अझै उर्जामय जीवनको कामना गर्दछु र यो कृति पढ्नै पर्ने कृति भएको सबैमा जानकारी गराउँदछु ।
(लेखक साहित्य संगम मकवानपुरका सचिव एवम् हेटौंडा–१, चौकीटोलस्थित अमर माविका नेपाली भाषा शिक्षक हुनुहुन्छ ।)