हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविले अनलाइनबाट पढाई सञ्चालन गर्ने भएको छ । अनलाइनबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पढाउन लागेको हो । आज र भोली सम्पुर्ण विद्यार्थीहरुलाई सम्पर्क गरेर इन्टरनेट व्यवस्था मिलाई मोवाइल एपको माध्यमबाट पर्सीबाट शैक्षिक गतिविधि सुरु गरिने विद्यालय सञ्चालक समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो । सम्भव भएसम्म विद्यार्थीले घरबाटै पढ्ने र त्यो सम्भव नभएमा घर नजिक पर्ने विद्यार्थीलाई व्यवस्था मिलाइने तयारी गरिँदै छ ।
त्यस्तै उहाँले कोरोना भाइरसको कारण देशमा भैरहेको लकडाउन अझै लम्बिने भएकोले विद्यालयको पठनपाठनलाई सहयोग पुग्ने गरी विद्यालयको सम्पुर्ण शिक्षकहरु आ–आफ्नो विषयलाई आवश्यक पर्ने शैक्षिक सामग्री तयार पार्न २ हप्तादेखि लागी परेको र त्यसमा विद्यालय व्यवस्थापन समितिले सहयोग गरेको बताउनुभयो । विद्यालयका सम्पुर्ण शिक्षक र व्यवस्थापन समितिले अनलाइनबाट नै छलफल गरे शिक्षण सिकाइका विषयवस्तु तयार पार्न लागिएको अध्यक्ष रम्तेलले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक जयराम थापा, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाई, शिक्षकहरु आशिष चौलागाई र उमेश पराजुली लगायत विद्यालयका सम्पुर्ण शिक्षकहरु लकडाउनको समय सदुपयोग गर्न शैक्षिक सामग्री बनाउन सक्रिय रुपमा लागी परेको उहाँको भनाइ छ ।
विद्यालयको आन्तरिक स्रोत अन्तर्गतको मर्मत सम्भारको कार्य पनि भइरहेको छ । विद्यालयमा ट्रस भवन, शौचालय निर्माण, पेन्टिङ, चित्र सहितको भित्ते लेखन लगायतका कार्यहरु भइरहेको छ । लकडाउनको कारण मर्मत सम्भारको कार्यका लागि चाहिने निर्माण सामग्री उपलब्ध गराउन गाह्रो भइरहेको र हालसम्म स्थानीय पसलहरुबाट र स्थानीयहरुसँग सरसापट गरी विद्यालयको कार्य गरिरहेको अध्यक्ष रम्तेलले बताउनुभयो । मर्मत सम्भारको कार्यमा बाहिरको जनशक्ति प्रयोग नगरिएको र धेरै समय लगाएरै भए पनि थोरै मानिस खटाउने उद्देश्यले स्थानीय जम्मा ५ जनाले काम गरिरहेको उहाँले बताउनुभयो ।