पुरस्कार वितरणपछि खिचिएको तस्वीर ।

हेटौँडा : मकवानपुर जिल्ला बक्सिङ संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजित जिल्लास्तरीय बक्सिङ प्रतियोगिता सकिएको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ प्रभाकर चौलागाई र सिनियरतर्फ सोहन राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । ७५ केजी तौल समूहमा प्रभाकरले विराज लामालाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए भने ७१ केजी तौल समूहमा सोहनले दिपेश श्रेष्ठलाई पराजित गरेका थिए ।

प्रतियोगितामा ५१ केजी तौल समूहमा राकृत डिम्डुङलाई पराजित गर्दै दिवान्सु परियारले स्वर्ण पदक जिते भने ५४ केजी तौल समूहमा रेगन अधिकारीले स्वर्ण पदक जित्दा विवेश जर्गा मगर रजत पदकमा सीमित भए । ५७ केजी तौल समूहमा सचिन श्रेष्ठले निर्जल वाईबालाई पराजित गर्दै स्वर्ण पदक जिते । १६ वर्ष उमेर समूहमा ६० केजी तौल समूहमा रिजन थापा मगरले स्वर्ण पदक जित्दा आयुष घिसिङले रजत पदकमा चित्त बुझाउन बाध्य भए । १८ वर्ष उमेर समूहमा ६० केजी तौल समूहमा नुपम मुक्तानले स्वर्ण पदक जित्दा इशप महर्जनले रजत पदक जितेका छन् ।

६३.५ केजी तौल समूहमा संजिब लामाले स्वर्ण पदक जित्दा सिलेन वाईबाले रजन पदकमा चित्त बुझाउन बाध्य भए । ६७ केजी तौल समूहमा अरनभ कँडेलले रस्किन अधिकारीलाई पराजित गर्दै स्वर्ण पदक जिते । रस्किनले रजत पदकमै चित्त बुझाउन बाध्य भए । ७५ केजी तौल समूहमा सोहन राईले स्वर्ण पदक जित्दा दिपेश श्रेष्ठले रजत पदक प्राप्त गरेका छन् । ७५ केजी तौल समूहमा सारांश श्रेष्ठले शिवम् कार्कीलाई पराजित गरेर स्वर्ण पदक जिते ।

धेरै समयपछि जिल्लास्तरीय बक्सिङ प्रतियोगिता भएको हो । प्रतियागितामा ३८ जना खेलाडी सहभागी हुँदा ३ जना मात्रै यसअघि पनि जिल्ला, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भएका थिए । ३५ जना खेलाडी पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा सहभागी जनाएका हुन् । प्रतियोगिता आयोजनाका लागि हेटौँडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा वडाध्यक्षहरु सविन न्यौपाने, रामकृष्ण थापा, जुना दाहाल, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष सविन भट्टाचार्य, पूर्व केन्द्रीय सदस्य वेश खड्कीको आतिथ्य रहेको थियो । जिल्लास्तरीय बक्सिङ प्रतियोगिता उज्ज्वल शर्मा भण्डारीको संयोजकत्वमा भएको हो ।