असोज महिना सुरुवातसँगै दशैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्व क्रमशः आउने गर्दछन् । हिन्दू धर्मावलम्बी नेपालीको सबैभन्दा ठूलो चाड भएकाले दशैं मनाउन धेरै खर्च तथा तयारी गर्ने गरिन्छ । हरेक चाडपर्वको केही न केही फरक विशेषता हुन्छन् । दशैंको पनि धेरै विशेषताहरु छन् । खसी, बोका वा अन्य जनावरको बली दिने वा मासु खाने दशैंको पर्याय नै बनिरहेको छ । अरु समयमा भन्दा दशैंको अवधिमा अधिकांश नेपालीले मासुको उपभोग बढी गर्दछन् । अझ दशैंमा अधिकांश खरमै खसी, बोका वा अन्य जनावर काटेर खाने परम्परा नै रहेको छ । यसकारण दशैंका लागि शहर बजारमा ग्रामीण क्षेत्रबाट ठूलो संख्या खसी, बोका, भेडा, च्याङ्ग्रालगायत जनावरहरु भित्रने गर्दछन् ।

हेटौंडा बजारमा पनि दशैंका लागि खसीबोका बिक्री सुरु भएको छ । दशैं पर्व नजिकिएसँगै बजारमा खसीबोका भित्रिने क्रम बढ्न थालेको छ । किसान तथा व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने क्रम बढे पनि खसीबोका किन्ने उपभोक्ताको उपस्थिति भने अझै न्यून रहेको छ । प्रायजसो दशैंको सातौं दिन फूलपातीदेखि नवौं दिन महानवमीसम्म शक्तिपिठहरुमा बली दिने तथा घरघरमा खसीबोका काट्ने गरिन्छ । दशैं सुरु हुन अझै केही दिन बाँकी रहेको र खसी काट्ने दिन आउन झण्डै दुई साता बाँकी भएकाले बजारमा खसीबोका किन्ने उपभोक्ताको चहलपहल कम भएको हो । खसीबोका किनेर अझै केही दिन पाल्नुपर्ने भएका कारण शहरी क्षेत्रका उपभोक्ता फूलपातीको केही दिनअघिमात्र खसीबोका किन्न चाहन्छन् । तर, दशैंका मुख्य दिन नजिकिँदै गर्दा भनेजस्तो खसीबोका नपाउने र महंगो पर्ने चिन्ता पनि आम उपभोक्तामा हुने गर्दछ ।

खसीबोका बिक्रीका लागि हेटौंडा बजार क्षेत्रमा व्यवस्थित स्थानको अभाव छ । दशैंको समयमा मात्र नभई अन्य समयमा पनि खसीबोका खरिद–बिक्रीका उपयुक्त बजारको व्यवस्थापन हुन सकेको छैन । घामपानी सहेर खुला चौरमा खसीबोका बिक्री गर्नुपर्ने बाध्यता वर्षौंंदेखि जस्ताको त्यस्तै छ । खसीबोका खरिद–बिक्री हुने ठाउँमा बिक्री नभएका खसीबोका केही दिन पाल्नका लागि उचित पूर्वाधार हुनु आवश्यक छ । खसीबोका सुरक्षित राख्न सकिने संरचना बजारमा भएमा खसीबोका पाल्नेले सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहँदैन । अहिलेको खसीबोका बिक्री स्थलमा त सामान्य शौचालयसमेतको व्यवस्था नहुँदा थप समस्या भइरहेको व्यापारीहरुको गुनासो छ । खसीबोका बिक्री गरेबापत हेटौंडा उपमहानगरपालिकाले कर उठाउँदै आए पनि खसीबोका बजारलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन हेटौंडा उपमहानगरपालिकाले खासै ध्यान दिन सकेको छैन ।

पशु हाटबजार सेवा शुल्कको नाममा उपमहानगरले कर उठाउँदै आए पनि बजार व्यवस्थापना ध्यान नदिँदा कृषक तथा व्यापारी दुबै समस्यामा परेका छन् । राज्य संयन्त्र वा व्यावसायिक संघसंस्था कसैले पनि खसीबोकाको मूल्य निर्धारण नगर्दा पनि किसान तथा व्यापारीलाई असहज भइरहेको छ । व्यापारीहरुले किसानसँग सस्तो मूल्यमा खसीबोका किनेर मनलाग्दी मूल्यमा बिक्री गर्ने गरेको आरोप व्यापारीलाई लाग्दै आएको छ । ग्रामीण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसीबोका बिक्री नभएमा पुनः फर्काएर लैजान सहज नहुने भएकाले किसानहरुले व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेका कारण समस्या पर्ने गरेको हो । चाडपर्वमा यस्ता समस्या अझ बढी हुने गर्दछ । अन्य समयभन्दा चाडपर्वमा अत्यधिक माग हुने विशेष वस्तुहरुमा कालोबजारी गरेर कमाउन खोज्नेले यस्तै मौका खोज्ने भएकाले बजारको उचित व्यवस्थापनसँगै नियमन हुनु आवश्यक छ ।