Home मुख्य समाचार आरडीटी टेस्टमा एन्टीबडी पोजेटिभ देखिएका हेटौंडाका चारैजनामा कोरोना संक्रमण देखिएन

आरडीटी टेस्टमा एन्टीबडी पोजेटिभ देखिएका हेटौंडाका चारैजनामा कोरोना संक्रमण देखिएन

हेटौंडाः र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) टेस्टमा एन्टीबडी पोजेटिभ देखिएका हेटौंडा उपमहानगरपालिकाका ४ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकामा पहिलो पटक ४९ जनामा आरडीटी टेस्ट गर्नेक्रममा हिजो बिहिबार ४ जनामा एन्टीबडी पोजेटिभ देखिएको थियो ।
आरडीटी टेस्टमा ५० वर्षीया एक महिलासहित २४, ३२ र ६७ वर्षका ३ जना पुरुषमा एन्टीबडी पोजेटिभ देखिएको थियो । शरीरमा एन्टीबडी पोजेटिभ हुनु भनेको कुनै किसिमको भाइरसविरुद्ध प्रतिरक्षा शक्ति सक्रिय भएको हुन सक्ने अवस्था हो । यसैले कोरोना भाइरसकै कारण एन्डीबडी पोजेटिभ भएको हुन सक्ने आशंकामा प्रयोगशाला परीक्षण गरिने चिकित्सकको भनाइ छ । रगतबाट आरडीटी टेस्ट गरिएका उनीहरुको स्वाब संकलन गरेर हेटौंडास्थित बागमती प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमण नदेखिएसँगै उनीहरु आइसोलेसन कक्षबाट डिसचार्ज भएका छन् ।
चैत १ गतेयता विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउनका लागि हेटौंडा उपमहानगरपालिकाले आरडीटी टेस्ट सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र चैत १ गतेयता २ सय २१ जना विदेशबाट आएका व्यक्तिको पहिचान भएको छ ।

Exit mobile version