हेटौँडा : नेपालका लागि भारतीय महावाणिज्यदूत देवी सहाइ मिनाले नेपालमा जलविद्युत व्यापारमा ठुलो सम्भावना रहेको बताउनु भएको छ । बिहिबार नेपाल उद्योग परिसंघ तथा भारतीय संस्था पञ्जाब–हरियाणा–उत्तर प्रदेश (पिएचडी) उद्योग वाणिज्य संघको समन्वयमा हेटौँडामा आयोजित अन्तरक्रियामा महाबाणिज्यदूत मिनाले नेपालले आफ्नो जलविद्युत उत्पादन क्षमता बढाएर भारतमा बेच्न सके पर्याप्त फाइदा लिन सक्ने उल्लेख गर्नुभएको हो ।
हाल नेपालले भारत तथा बंगलादेशलाई विद्युत बिक्री गरिरहेको उदाहरण दिँदै भविष्यमा नेपालले विद्युत व्यापारको दायरा बढाउनुपर्ने सुझाव दिनुभएको छ । उहाँले जलविद्युतसँगै कृषि, कृषिजन्य प्रशोधन उद्योगहरु, जडिबुटी, औषधी लगायतका क्षेत्रमा नेपालले उत्पादन बढाएर भारतलाई बेच्न चाहेमा भारत तयार रहेको उहाँको भनाइ थियो । नेपालले आइटी लगायत अन्य प्रविधि र पर्यटनमा पनि राम्रो सम्भावना रहेकोले उद्योगीहरुलाई यसबारे सोच्न आग्रह गर्नुभएको थियो । उहाँले भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जको पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै दुइ देशबीचको नमुना सहकार्य भएको उल्लेख गर्दै भविष्यमा भारत नेपालसँग अन्तर्राष्ट्रिय व्यापारका लागि विभिन्न योजनामा काम गर्न तयार रहेको बताउनुभयो ।
उद्योग परिसंघ नेपालका महानिर्देशक घनश्याम ओझाले सिमा पारबहन व्यापारमा अहिले भइरहेको प्रशासनिक झन्झट हटाएर सरल, पारदर्शी र आधुनिक बनाउन नेपाल र भारत दुवै देशहरुले तत्परता देखाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपाल सामाजिक, साँस्कृतिक रुपमा समानान्तर भएपनि हाल नेपालले मात्र व्यापार घाटा व्यहोरिरहेकोले व्यापार घाटा कम गर्न भारतले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाल नेपालले जडीबुटी, तयारी सामान र कृषिजन्य सामग्रीहरु निर्यात गरिरहेको बताउँदै निर्यात उन्मुख नेपाली उत्पादनलाई भारतीय बजारमा सहजतापूर्ण वातावरण बनाउन भारत सरकारले सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा सहभागी उद्योगी तथा व्यवसायीहरुले दुइ देशबिचको सिमा पारबहनलाई सुदृढ बनाउन परिक्षण तथा प्रमाणित सुविधा विस्तार गरी तत्काल नै निर्यात गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । यस्तै भारतीय भन्सारमा भारतीय सामान सहज रुपमा पठाउने तर नेपाली सामग्री निर्यात गर्दा रोकेर दुःख दिएको भन्दै महावाणिज्यदूत मीनाको ध्यानाकर्षण समेत गराएका छन् । नेपालमा भारतमा स्थापित सुचना प्रविधिजन्य उद्योगको नेपालमा शाखा खोल्दा नेपाली सुचना प्रविधिका श्रमशक्ति प्रयोग हुने भएकोले सूचना प्रविधीमा भारतीय व्यवसायीहरुलाई लगानी गर्न नेपाली पक्षबाट सुझाव दिइएको छ ।
पिएचडि उद्योग वाणिज्य संघ भारतका नेपाल भारत सेन्टरका वरिष्ठ सचिव अतुल कुमार ठाकुरले समन्वय गर्नुभएको कार्यक्रममा उद्योग परिसंघ नेपाल बागमती प्रदेशका अध्यक्ष त्रिलोचन कँडेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिँह रानाभाट, चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, चिवतन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, लगायतको उपस्थिती रहेको थियो ।
