हेटौँडा : त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा सुधार गर्दै स्नातक तह दोस्रो वर्षको नतिजा छोटो समयमै सार्वजनिक गरेको छ । विश्वविद्यालयले २०८२ सालको पुस १६ गते सुरु भएर माघ २ गते सम्पन्न भएको स्नातक तह दोस्रो वर्षको विभिन्न संकायका नियमित वार्षिक परीक्षाहरूको नतिजा ३ महिनामै सार्वजनिक गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा समाजशास्त्र संकाय र व्यवस्थापन संकायको नतिजा चैत २३ गते र विज्ञान तथा प्रविधि संकायको नतिजा चैत २७ गते प्रकाशित गरेको छ । शिक्षाशास्त्र संकायको नतिजा भने आउन बाँकी छ । मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा शाखाका प्रमुख दिनेश महतका अनुसार २०८२ सालदेखि त्रिभुवन विश्वविद्यालयले छिटो–छिटो नतीजा सार्वजनिक गर्न थालेको हो ।
विगतका वर्षहरूमा त्रिभुवन विश्वविद्यालयको नतिजा आउन वर्ष दिन नै कुर्नुपर्ने समस्याले विद्यार्थीहरू मर्कामा पर्दै आएका थिए । तर, यसपटक परीक्षा सम्पन्न भएको २ महिनाभित्रै नतिजा सार्वजनिक भएको छ । यसले विद्यार्थीहरूलाई अघिल्लो वर्षको पढाइ र अन्य शैक्षिक योजना बनाउन सहज हुने देखिएको छ ।
