Home मुख्य समाचार ज्ञानदा माविको अभिभावक भेला सम्पन्न

ज्ञानदा माविको अभिभावक भेला सम्पन्न

अभिभावक दिवसको अवसरमा सम्मानित शिक्षकहरु।

हेटौँडा: हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ५४ औं अभिभावक भेला बिहिबार सम्पन्न भएको छ । हेटौंडा वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराम थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यालयको समस्याबारे बोल्दै सहायक प्रधानाध्यापक प्रेम बहादुर स्याङ्तानले विद्यालयको नवनिर्मित १३ कोठे भवन निर्माणमा ढिलाइ हुँदा पठनपाठनका लागि कक्षाकोठाको अभाव झेलिरहेको बताउनुभयो । यस्तै जमिनको कमीले गर्दा खेलमैदान नहुँदा विद्यार्थीहरुले विभिन्न अभ्यास खेलकुद गराउन नपाएको समेत बताउनुभयो । यस विद्यालयमा श्रमिक वर्गका बालबालिका अध्ययन गर्ने हुँदा गुणस्तरीय सिकाइका लागि आवश्यक कमीहरु व्यवस्थापन गनुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा विद्यालयले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड २९ लाख ९७ हजार रुपैयाँको आय–व्यय प्रस्तुत गरेको छ ।

कार्यक्रममा विद्यालयको वार्षिक परीक्षामा कक्षागत रुपमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । यस्तै विभिन्न क्षेत्रमा कार्यरत विद्यालयका पूर्वविद्यार्थीहरु भिमप्रसाद धिमाल, बासुलाल श्रेष्ठ, शैलेश श्रेष्ठ, सुकराज मोक्तान, मदन लामा, कोपिला लामा, सपना ठकुरी लगायत १५ भन्दा बढी पूर्वविद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयको पूर्णभद्र ढुंगाना समृति अक्षयकोषका संरक्षक ज्ञानेन्द्र ढुंगानालाई समेत सम्मान गरिएको थियो । भेलाले समय अपुग भएको कारण देखाउदै विद्यालय व्यवस्थापन समितिका सदस्य चयनको प्रक्रिया शुक्रबार टुङ्गिने विद्यालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख बद्री बहादुर पाठक, बोर्डका पूर्व प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख हरिचन्द्र सापकोटा, १० नं वडाका वडासदस्यहरु बिमल लामा, गोमा सुनार, विद्यालय व्यवस्थापन समितिका सदस्य गितादेवी यादव लगायत शिक्षक अभिभावकहरुको उपस्थिति थियो ।

Exit mobile version