Home खेलकुद प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

हेटौँडा : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई ५ विकेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । वीरगन्जस्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३९ ओभर ४ बलमा सवै विकेट गुमाएर १ सय ६१ रन मात्रै बनाउन सफल भयो ।

१ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले ३४ ओभर ३ बलमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य हासिल गर्‍यो । १० ओभर ३ बलमा ३१ रन जोड्दा सुदूरपश्चिमले ५ विकेट गुमाइसकेको थियो । सुदूरपश्चिमका खड्का बोहरा र नरेन भट्ट समान १ रन जोडेर आउट भए । राजु रिजाल र दीपक बोहरा पनि समान ७ रन जोड्दै आउट भए । पाँचौं विकेटको रुपमा अभिषेक पाल ९ रनमा आउट भए । छैठौं विकेटका लागि किरण ठगुन्ना (३५ रन) र नारायण जोशी (२९ रन) ले साझेदारी गरेपछि सुदूरपश्चिमले २२ ओभरमा ९३ रन जोडेको थियो । ९८ रन जोड्दा सातौं विकेट गुमाएको सुदूपश्चिमले आठौं विकेट गुमाउँदा १०४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अशोक धामीले ४३ रनको योगदान दिए । आर्मीका आकाश चन्द्र र साहव आलमले ३/३ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको त्रिभुवन आर्मी क्लबले पनि सुरुवाती प्रदर्शन खराब रह्यो । १० ओभर ३ बलमा ५६ रन जोड्दा आर्मीले ४ विकेट गुमाएको थियो । पहिलो ओभरमै विनोद भण्डारीलाई गुमाएको आर्मीले भीम सार्कीलाई १५ रन जोडेपछि गुमायो । कुशल मल्ल र तीर्थराज दास आउट हुँदा आर्मीले ५६ रन मात्रै जोडेको थियो । पाँचौं नम्बरका खेलाडी इमरान शेख र बसिर अहमदले क्रमशः ४६ र ४५ रनको योगदान गरेसँगै आर्मी सहज जित उन्मुख भएको थियो । फाइनल खेलको प्लेयर अफ द म्याच आर्मीका बसिर अहमद घोषित भए । प्रतियोगिताभर त्रिभुवन आर्मी क्लब अपराजित रह्यो । प्लेयर अफ द सिरिज लुम्बिनी प्रदेशका सन्तोष यादव घोषित भए ।

Exit mobile version