हेटौंडाः माध्यमिक विद्यालय शिक्षक युुनियन (हिस्टुन) जिल्ला कार्य समिति मकवानपुरको दोस्रो अधिवेशन सुरु भएको छ । आज शनिबार बिहान बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अधिवेशनको उद्घाटन गर्नुभयो ।
अधिवेशनमा हिस्टुन मकवानपुरका सचिव कृष्ण पोखरेलले अहिले देशभरका उच्च मावि (कक्षा ११ र १२) मा शिक्षक संख्याको अवस्थांबारे जानकारी गराउनु भएको थियो । अहिले देशभर उच्च माविमा ११ हजार ८ सय १२ जना शिक्षक रहेको उहाँले जानकारी दिनुभयो । यस्तै देशभर अनुदान कोटामा ४ हजार जना र २ हजार दरबन्दी गरी जम्मा ६ हजार शिक्षकहरु रहेको उहाँले जानकारी गराउनुभयो ।
मकवानपुरमा भने ५७ जना अनुदान र दरबन्दी रहेको उहाँले बताउनुभयो । अहिले देशका उच्च माविहरुमा आवश्यकता अनुसार शिक्षक दरबन्दी नभएको उहाँले बताउनुभयो । शिक्षक दरबन्दीका सम्बन्धमा हिस्टुनले विभिन्न माग राख्दै आन्दोलन गर्ने उहाँले बताउनुभयो । यस अघि हिस्टुनले बिहीबार शिक्षक दरबन्दीको माग गर्दै पेन डाउन गरेको थियो । दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।
माध्यमिक विद्यालय शिक्षक युुनियन (हिस्टुन) मकवानपुरका अध्यक्ष रमेश रिजालको सभाध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा हिस्टुन केन्द्रीय कार्य समितिका सदस्य छवि सुवेदी र राष्ट्रिय परिक्षा बोर्ड मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।