हेटौंडा बजारको सडकलाई राष्ट्रिय योजनाबाट हटाउने चर्चा चलेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौंडा बजारको सडक ५० मिटरबाट हटाएर ३२ मिटर बनाउने निर्णय भएको सार्वजनिक गरेपछि यसले पुनः चर्चा पाएको छ । मंगलबार पत्रकारहरुसँग मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारे कुराकानी भएर बजारको सडकलाई राष्ट्रिय योेजनाबाट हटाउने निर्णय भएको बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षले शहरको बीच भागबाट राष्ट्रिय राजमार्ग निर्माण नगरी राजमार्गको रुपमा वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने माग गर्दै बुझाइएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्रीले यस्तो बताएका हुन् । रातोमाटेदेखि चौकीटोलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्मको सडकलाई १६–१६ मिटर कायम गरेर शहरी मार्ग कायम गर्नुपर्ने माग ज्ञापनपत्रमा रहेको छ ।
पूर्वपश्चिम राजमार्ग एसियन हाइवेको एउटा खण्ड हो । विश्व बैंक, एसियाली विकास बैंकलगायतको ऋण सहयोगमा यस राजमार्गको विभिन्न खण्डहरु विस्तारको काम भइरहेको छ । पथलैया नारायणगढ खण्डको विस्तारका लागि डीपीआर तयार गर्ने र वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम भइरहेको छ । राजमार्ग विस्तारको सबालमा सर्वोच्च अदालतले पनि राष्ट्रिय राजमार्ग कायम हुँदा उल्लेख भएको सडकको दायाँ–बायाँ २५–२५ गज खाली गराउन सकिने निर्णय दिइसकेको अवस्थामा मुख्यमन्त्रीले भनेजस्तो बाइपास गर्ने सम्भावना कम देखिन्छ । शहर बनिसकेको ठाउँमा नयाँ राजमार्ग बनाउँदा शहरको बीचबाट लैजानु हुँदैन भन्नु स्वभाविक भए पनि राजमार्ग निर्माण भएपछि बनेको शहरमा बीचबाट राजमार्ग लानु हुँदैन भन्नु कति जायज हुन्छ ?
हेटौंडा बजारक्षेत्र भएर पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग र त्रिभुवन राजपथ गएको छ । निर्माणाधीन कान्तिलोकपथ हेटौंडामै आएर टुंगिन्छ । मदन भण्डारी लोकमार्गको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक हेटौंडाकै चौघडामा आएर कान्तिराजपथ हुँदै पूर्वपश्चिम राजमार्ग भएरै पश्चिमतर्फ जाने हो । प्रदेश सरकारले ठूलो लगानी गरेर स्तरीकरण गरिरहेको भीमफेदी–कुलेखानी–काठमाडौं सडकमा गुड्ने सवारी पनि त्रिभुवन राजपथ हुँदै हेटौंडामै आइपुग्ने हो । काठमाडौं तराई मधेश फास्ट ट्रयाकमा पनि हेटौंडाबाट लिंकरोडले जोड्ने योजना छ । यी सबै सडक सञ्जाल सञ्चालन हुँदा हेटौंडा बजार क्षेत्रमा सवारी चाप अत्यधिक हुने निश्चित छ । अहिले भएका सडकले ती सवारी साधन पक्कै धान्न सक्दैन । सवारी चापलाई व्यवस्थापन गर्न बाइपास सडक एउटा भरपर्दो विकल्प हुने भए पनि राष्ट्रिय राजमार्गलाई योजनाबाटै हटाउने कुरा उचित होइन र सहज पनि छैन ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको बजार क्षेत्रमा सवारी चाप व्यवस्थापन गर्न बाइपास सडक बन्नु आवश्यक छ । प्रस्तावित बाइपास सडकसँगै नदी नियन्त्रण तथा बस्ती विकासमा पनि सहयोग पुग्ने भएकाले बाइपास सडक निर्माण हुनुलाई सकारात्मकरुपमा लिनुपर्छ । संघीय सरकारको अधिकारमा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको पूर्व–पश्चिम राजमार्ग साँघुरो बनाउने वा बाइपास गर्ने कुरामा प्रदेश सरकारले धेरै चासो राख्नु पर्दैन । चुनावको मुखमा चुनावी मसला बनाएर राष्ट्रिय राजमार्गको बारेमा अनावश्यक हल्ला चलाउँदा त्यसले नकारात्मक प्रभाव पार्नसक्छ । काठमाडौं उपत्यकासँगै देशभर अतिक्रमित संरचना हटाउने लहर चल्न थालेको समयमा सडक विस्तार रोक्ने हल्लामात्र पनि प्रत्युत्पादक हुनसक्ने तर्फ जिम्मेवार पदाधिकारी गम्भीर बन्नु आवश्यक छ ।