नेपालमा आत्महत्या गर्नेको संख्या उच्च रहेको छ । विश्वभर नै आत्महत्या एक डरलाग्दो समस्या बनिरहेको छ । विश्वमा प्रत्येक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्ने र ४० सेकण्डमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । आत्महत्याको विकराल अवस्थालाई कम गर्न र यसबारे सचेतना बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर १० तारिखमा विश्वभर आत्महत्या रोकथाम दिवस मनाउने गरिएको छ । सन् २००३ देखि मनाउन थालिएको यो दिवस यस वर्ष शनिबार (भदौ २५ गते) मनाइएको छ । अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संगठनले विश्व स्वास्थ्य संगठन तथा विश्व मानसिक स्वास्थ्य संगठनसँग मिलेर यो दिवस मनाउने गरेको छ । आत्महत्या रोकथाम दिवसको अवसरमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।
विश्वमा हरेक वर्ष करिब ७ लाख मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक पाइन्छ । नेपालमा पनि गत आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ७ हजार एक सय ४१ जनाले आत्महत्या गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलना गत आर्थिक वर्षमा आत्महत्याको घटना केही कम भए पनि संख्यात्मक रुपमा यो उच्च नै रहेको पाइन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७/०६८ मा ३ हजार ९ सय १८ जनाले आत्महत्या गरेका थिए । एक दशकको अवधिमा नेपालमा आत्महत्या गर्नेको संख्या झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ । पछिल्ला दुई वर्षको तथ्यांकलाई हेर्दा नेपालमा दैनिक २० जनाले आत्महत्या गर्ने गरेको पाइन्छ ।
मकवानपुर जिल्लामा पनि गत आर्थिक वर्ष एक सय २५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्षमा आत्महत्या गर्ने ७ प्रतिशत किशोरी र ४ प्रतिशत किशोर रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्ने महिला ३३ प्रतिशत छन् भने पुरुष ५६ प्रतिशत रहेको तथ्यांक छ । ७ प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश १ मा एक हजार ४ सय ९१ जना र बागमती प्रदेशमा एक हजार ४ सय ४२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ९१ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । आत्महत्या भनेको जानीबुझी गरिने आत्मघात अथवा आफ्नो हत्या आफैंबाट गर्नु हो । आफूलाई आइपरेका समस्या समाधानका कुनै उपाय नदेखेपछि मानिस आत्महत्यातर्फ अग्रसर हुने गर्दछ । आफ्नो जीवनप्रति दिक्दारी लाग्नु, जीवनमा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नुजस्ता कारणले मानिसलाई आत्महत्या गर्ने अवस्थामा पु¥याउँछ । अत्यधिक मद्यपान तथा लागूऔषधको सेवन, दीर्घ रोगबाट ग्रस्त, जटिल मानसिक स्वास्थ्य समस्या, सामाजिक लाञ्छना, बेरोजगारी, असफलता आदि पनि आत्महत्याका कारण बन्ने गरेका छन् ।
आत्महत्या एउटा अप्रिय घटना हो । आत्महत्याका घटनालाई रोक्न सबैपक्ष जिम्मेवार हुनुपर्छ । आत्महत्या गर्ने सम्भावना भएका मानिसलाई सचेत गर्न सकेमा यसको न्यूनीकरण गर्न सकिन्छ । आत्महत्याका सम्भावित कारण पहिचान गरेर यसलाई न्यूनीकरण गर्न सकिने भएकाले तीनै तहको सरकार यसमा गम्भीर बन्नुपर्छ । आत्महत्या रोकथाम गर्न आत्महत्याबारे खुलेर कुराकानी गर्ने तथा यस विषयमा व्यापक बहस चलाउनु आवश्यक छ । हरेक मानिसको जीवनमा कुनै पनि समय आत्महत्याको सोच आउन सक्छ । मानव जीवन संघर्षपूर्ण हुन्छ भन्ने तथ्यलाई मनन गर्दै मानव जीवन सफल बनाउन जस्तोसुकै कठिनाई सामना गर्न दृढताका साथ लागि परेमा आत्महत्याको गलत सोचबाट मुक्ति पाउन सकिन्छ ।