विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड—१९) को संक्रमणबाट सुरक्षित रही सावधानीपुर्वक संक्रमण फैलिन नदिई सर्वसाधारणको जीउ–धनको सुरक्षाका लागि नेपाल सरकारले मुलुकभर पुर्ण रुपमा लक डाउन (बन्दाबन्दी) गरेको छ । यस अवस्थामा बचत तथा ऋण सहकारी संस्था र बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले सेवाप्रवाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा विभिन्न सहकारी संस्थाहरुको योजना, केन्द्रीय सहकारी संघको मार्गदर्शन, विषय विज्ञहरुको आलेख, वर्तमान परिस्थिति आदिको अधारमा यी विषयमा सहकारी संस्था सञ्चालनमा ध्यान दिनुपर्ने केही विषयहरु यहाँ उल्लेख गरेको छु ।

कल्पना श्रेष्ठ

१) सेवा सञ्चालन गर्दा सम्पूर्ण सुरक्षा उपायहरुलाई अबलम्बन निरन्तर रुपमा गर्ने ।
२) टेलिफोन तथा सम्पर्क विधिहरुको प्रयोग गरी सेवालाई प्रभावकारी र सुरक्षित गर्ने ।
३) सदस्यहरुले अत्यावश्यक कार्यको लागि मात्र भुक्तानी लिन आउने वातावरण मिलाउने । अधिकतम रकम तथा समयावधि तोकी सोही बराबरसम्म मात्र भूक्तानी दिने व्यवस्था गर्ने ।
४) २५ प्रतिशतभन्दा बढी तरलता व्यवस्थापन भएको समयमा मात्र ऋण प्रवाह गर्न सक्ने नीति लिने ।
५) १५ प्रतिशतसम्म तरलता रहेको अवस्थामा सामान्य ढंगबाट बचत फिर्ता प्रक्रियाको नीति लिने । तोकिएबमोजिम पाक्षिक वा मासिक भूक्तानी प्रणाली विकास गर्ने ।
६) १० प्रतिशत तरलता रहेको अवस्थामा सदस्यहरुको अत्यवश्यक अवस्थामा मात्र बचत फिर्ता गर्ने नीति लिने । सहकारीका सञ्जाल समन्वयमा रहने ।
७) प्राथमिक पूँजीको ५ प्रतिशतभन्दा बढी ऋणको अधिकतम सीमा निर्धारण नगर्ने नीति लिने ।
८) १ वर्षे भन्दा लामो अवधिको ऋण लगानीमा पूर्ण नियन्त्रण बिधि अपनाउने ।
९) सदस्यलाई ऋण भूक्तानीमा उत्प्रेरणा जगाउनको लागि रिबेट (व्याजमा निश्चित प्रतिशत छुट) सुविधा उपलब्ध गराउने ।
१०) यस आर्थिक वर्षसम्म ऋण भुक्तानी गर्दा लकडाउनको अवधिको जरिवाना छुट गर्ने नीति लिने ।
११) लक डाउनको अवधिभित्र अन्तिम भूक्तानी म्याद भएको सदस्यलाई अधिकतम ६ महिना अवधि थप गर्न सकिने नीति लिने ।
१२) लकडाउन अवधिभरको भूक्तानी गर्नुपर्ने ऋण रकमलाई भाखा नाघेको ऋणमा गणना गर्नु नपर्ने नीति लिने ।
१३) विपद् र आकस्मिक अवस्थामा सदस्यहरुलाई वित्तीय पूर्वतयारी गर्ने बानी विकासको लागि लकडाउनको अवधि सक्किने बित्तिक्कै आपतकालिन बचत गर्न प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्ने ।
१४) सदस्य सुरक्षा बिधिहरु सहकारीमा स्थापना गरी आपतकालिन अवस्थामा सदस्यको आपतकालिन स्वास्थ्य उपचारमा सहयोगी भूमिका निर्वाह गर्ने नीति लिने ।
१५) खर्च कटौती तथा मितव्ययिता अपनाउने ।
१६) व्यावसायिक योजना समीक्षा गरी नयाँ रणनीतिहरु तय गर्ने ।
१७) महामारी अवधिको योजना, तरलता विश्लेषण लगायतका विषयमा चनाखो रही सेवा प्रवाह गर्ने
१८) सहकारीहरुको एकीकरण र प्रविधिको विकासतर्फ सचेत भई सेवाप्रवाह रणनीति लिने ।
समय र परिस्थितिले कतिखेर कस्तो मोड लिन्छ भनेर यस्सै भन्न सकिने अवस्था देखिँदैन । समय सापेक्ष रणनीतिहरु बदल्नु पर्ने पनि हुन सक्छ । आज एउटा संकट आयो । भोलि यो भन्दा पनि बृहद संकट नआउला भन्ने पनि छैन । सामान्य अवस्थामा आउनको लागि पनि लाखौंको रोजगारी गुम्ने, व्यवसायमा भएको क्षतिको कारण उठ्नै नसक्ने अवस्थाको सिर्जना हुन सक्छ । २०७२ सालको भूकम्पले नेपालको मात्रै अर्थतन्त्रमा धक्का दिएको थियो । आज विश्व अर्थतन्त्रमा धक्का पुगेको छ । त्यसैले सबै सहकारी संस्थाहरुले सदस्यहरुमा धैर्यता र सहनशीलताको भावना लिएर अघि बढ्न उत्प्रेरित गरिरहनु पर्ने आवश्यक देखिन्छ ।
स्मरणीय छ । विश्व ध्वस्त हुँदैछ भन्ने अफवाह फैलँदा केही मान्छेहरुले आफ्नो सबै सम्पत्ति बेचेर खाई बाँकी जिवन दुखद् भएका कथाहरु हामीलाई हाम्रा अग्रजहरुले सुनाउनु हुन्थ्यो । आज पनि अफ्ठेरो पर्दालाई त हो नि बचत गरेको आजै झिकौं, आजै खाई सकौं भन्ने धारणाले पनि वित्तीय आतंक मच्चिन सक्छ । यी सबै परिस्थितिलाई ध्यानमा राखी सदस्यहरुलाई जीवनप्रतिको आशा जगाउने किसिमका परामर्शहरुको पनि सख्त जरुरी हुन सक्छ । यस तर्फ सबैको ध्यान जानु जरुरी रहेको छ ।
(लेखक मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष हुनुहुन्छ ।)