हेटौंडाः र्यापिड डाइग्नोस्टिक किट (आरडीटी) टेस्टमा हेटौंडा उपमहानगरपालिकाका ४ जनामा एन्टीबडी पोजेटिभ पोजेटिभ देखिएको छ । आज दुई स्थानमा गरिएको आरडीटी टेस्टमा चार जनामा एन्टीबडी पोजेटिभ देखिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । हेटौंडा–४ स्थित बासुदेव सभागृहमा ४० जना र हेटौंडा–१५, चुरियामाईमा ९ जनाको आरडीटी टेस्ट गरिएकोमा कएन्टीबडी पोजेटिभ देखिएलगत्तै चारैजनालाई हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखिएको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो ।
आरडीटी टेस्टमा ५० वर्षीया एक महिलासहित २४, ३२ र ६७ वर्षका ३ जना पुरुषमा पोजेटिभ देखिएको हो । शरीरमा एन्टीबडी पोजेटिभ हुनु भनेको कोरोना भाइरसको संक्रमणका कारण भाइरसविरुद्ध प्रतिरक्षा शक्ति सक्रिय भएको हुन सक्ने अवस्था हो । रगतबाट आरडीटी टेस्ट गरिएका उनीहरुको अब स्वाब संकलन गरेर हेटौंडास्थित बागमती प्रदेश सरकारले स्थापना गरेको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताइएको छ । पीसीआर विधिबाट गरिने परीक्षणको नतीजा भने भोलि बिहानसम्ममा आइपुग्ने बताइएको छ ।
चैत १ गतेयता विदेशबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउनका लागि हेटौंडा उपमहानगरपालिकाले आरडीटी टेस्ट सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र चैत १ गतेयता २ सय २१ जना विदेशबाट आएका व्यक्तिको पहिचान भएको छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको एक सय वटा किटको प्रयोग गरी कोरोना संक्रमण भए नभएको परीक्षण गर्न उपमहानगरपालिकाका स्वास्थ्यकर्मी खटिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । पर्याप्त किट नभएका कारण विदेशबाट आएका मध्ये जोखिमका आधारमा परीक्षण गर्ने योजना उपमहानगरपालिकाले बनाएको छ । आरडीटीको माध्यमबाट १५ मिनेटमै कोरोना संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।