हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यालयले नगरका १९ वटै वडामा राहत वितरणको कार्य सकिएको जनाएको छ । उपमहानगरपालिकाले नगरका १९ वटा वडा मध्ये वडा नम्बर ३, १२, १३, १४, १५ र १९ मा प्लान ईन्टरनेशनलले, वडा नम्बर ७ र ८ मा वडा कार्यालयले नै राहत वितरण गरेको र अन्य वडामा उपमहानगरपालिकाले नै खरिद गरेको राहत सामग्री वितरण गरिएको जनाएको छ । पहिलो चरणको राहत वितरण गरिएको र लक डाउन लम्बिँदै गए आवश्यक निर्णय गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।
हेटौंडा उपमहानगरपालिकाले कार्यविधि बनाएर राहत वितरण गरेको थियो । हेटौंडा उपमहानगरपालिकाले खरिद गरेको राहत वडा नम्बर १ मा चार सय, वडा नम्बर २ मा दुई सय ५०, वडा नम्बर ४ मा दुई सय, वडा नम्बर ५ मा चार सय, वडा नम्बर ६ मा तीन सय ५०, वडा नम्बर ९ मा तीन सय विपन्न परिवारलाई राहत वितरण गरेको छ । यस्तै वडा नम्बर १० मा तीन सय, वडा नम्बर ११ मा चार सय, वडा नम्बर १६ मा एक सय ८०, वडा नम्बर १७ मा दुई सय ६५ र वडा नम्बर १८ मा चार सय ५० विपन्न परिवारलाई राहत वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
वडा नम्बर ७ ले भने उपमहानगरपालिकाले राहत वितरणका लागि कार्यविधि तयार पार्नुभन्दा अगाडि नै वितरण गरिसकेको वडा अध्यक्ष राजन थापाले जानकारी दिनुभयो । वडाले दुई सय १५ परिवारलाई राहत सामग्री वितरण गरेको अध्यक्ष थापाले बताउनुभयो । ८ नम्बर वडाले भने पर्याप्त राहत सामग्री उपलब्ध नगराएको भन्दै वडाले नै छ सय ५० परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाले प्रतिपरिवार १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ केजी नुन र नुहाउने साबुन ४ वटा वितरण गरेको थियो ।