हेटौंडाः नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८ सय ३० जनाले आत्महत्या गरेका छन् । विश्व आत्महत्या रोकथाम दिवसका दिन शनिबार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा अघिल्लो आर्थिक वर्षको तुलना आत्महत्याको घटना केही न्यून भएको पाइएको छ ।
अघिल्लो आर्थिक वर्षमा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका थिए । गत वर्ष आत्महत्या गर्ने ७ प्रतिशत किशोरी, ४ प्रतिशत किशोर रहेको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) ले जनाएको छ । आत्महत्या गर्ने महिला ३३ प्रतिशत छन् भने पुरुष ५६ प्रतिशत रहेको कोशिशले सार्वजनिक गरेको छ । ७ प्रदेशमध्ये सबैभन्दा बढी १ नम्बर प्रदेशमा १ हजार ४ सय ९१ जना, बागमती प्रदेशमा १ हजार ४ सय ४२ जनाले आत्महत्या गरेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा २ सय ९१ जनाले आत्महत्या गरेका छन् ।
नेपालमा दैनिक औसत २० जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने भन्दै कोशिशले प्रदेशस्तरीय बैठक गर्दै आत्महत्याको घटना रोकथाममा सचेत हुन आवश्यक रहेको औँल्याएको छ । कोशिशका प्रमुख कार्यकारी निर्देशक मातृकाप्रसाद देवकोटाले प्रदेश सरकारले ठोस् योजना ल्याएर यस्ता अप्रिय घटना न्यूनीकरण गर्नुपर्ने सुझाव दिनुभयो । आत्महत्याका घटनालाई रोक्न सबैपक्ष जिम्मेवार हुनुपर्नेमा पनि अन्तरक्रियामा सहभागीले जोड दिएका छन् ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले बागमती प्रदेशमा आत्महत्याका घटनाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । आत्महत्याका घटना हुनुअघि रोकथामका लागि सरोकारवाला सचेत हुन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने रेग्मीले बताउनुभएको छ । आत्महत्याको मुख्य कारण मनोसामाजिक समस्याको रुपमा रहेको छ । आत्महत्याको विविध कारणबारे सचते भएर आत्महत्या नहोस् भनी सबै सतर्क रहनुपर्नेमा घिमिरेले जोड दिनुभयो ।
बागमती प्रदेश सरकारको तर्फबाट आत्महत्याका घटना न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउन नसकेको सहभागीको गुनासो थियो । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आत्महत्या रोकथामका लागि योजना बनाउन जरुरी रहेको सहभागीको भनाइ थियो । स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले आत्महत्याको घटना संवेदनशील भएको उल्लेख गर्नुभयो । दैनिक देशभर औसत २० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
आत्महत्याको घटनालाई संवेदशनील भएर सरकारका कुनै पनि निकायले ध्यान दिन नसकेको, जोखिम न्यूनीकरणको प्रयास भएको देखिँदैन । आत्महत्याका कारण पहिल्याएर आत्महत्याका घटना न्यूनीकरण गर्न सकिनेमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।