कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः हेटौंडा–२ स्थित ॐ वृद्धाश्रमको उपाध्यक्ष वेगम बरालले संघीय र स्थानीय सरकारको सहयोग नगन्य रहेको बताउनुभयो । शनिबार भएको बृद्धाश्रमको १६ औं वार्षिक साधारणसभाको अवसरमा स्वागत मन्तव्य राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

स्थानीय तहले करिब ४० लाख रुपैयाँ र संघीय सरकारले करिब २० लाख रुपैयाँमात्र बृद्धाश्रमको भौतिक संरचना बनाउन सहयोग गरिएको भन्दै उहाँले सरकारको सहयोग नगन्य रहेको बताउनुभएको हो । सरकारले नै ज्येष्ठ नागरिकको आधारभूत आवश्यकता पूरा गर्नुपर्दछ, तर बृद्धबृद्धाहरुको लालनपालन, पोषण र स्वास्थ्य उपचारसँगै व्यवस्थापनका लागि सहयोग नगन्य रहेको उहाँको भनाइ छ ।

बृद्धाश्रम खोल्नु रहर नभई बाध्यता रहेको उहाँको भनाइ छ । यस्तै, विद्यालयमा एक विद्यालय एक नर्स अभियान लागू भएसँगै बृद्धाश्रम पनि एक नर्स अभियान तत्काल सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।

ॐ वृद्धाश्रमलाई विगत एक वर्षमा १० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सहयोगीदाता ४६ जना रहेका छन् । एक वर्षभित्र बृद्धाश्रमको आजीवन सदस्य बन्नुभएका हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जनसहित २० जनालाई प्रमाणपत्रसहित सम्मानित गरिएको छ ।

बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरि सिग्देलको विशिष्ट आतिथ्य तथा हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमुख बिष्णु लामिछाने, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन, सार्वजनिक सेवा सुधार संघर्ष समितिका संयोजक दीपेन्द्र चन्द ठकुरीलगायतको उपस्थिति थियोे ।