हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल गर्ने केन्द्र बनेको आरोप लगाउनुभएको छ । नेपालमा कसलाई सरकारमा राख्ने र कसलाई सरकारबाट हटाउने भन्ने विदेशीको हातमा रहेको थापाले बताउनुभयो ।
शनिबार हेटौंडामा आयोजित पार्टीको नगरस्तरीय अगुवा तथा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनुभयो । केपी ओलीले कालापानी र लिम्पियाधुराको चुच्चे नक्सा ल्याएकाले सरकारबाट हट्नुपरेको जिकिरसमेत थापाले गर्नुभयो । देशको हक अधिकारको काम गर्न खोजेकाले केपी ओलीको सरकारलाई हटाएर अध्यादेशको सरकार ल्याएको उहाँको भनाई छ ।
गठबन्धन सरकार सिन्डिकेटको सरकार भएको बताउँदै अध्यक्ष थापाले वर्तमान सरकारले ६–६ महिनामा मन्त्री फेर्ने काम गर्दै चलायमान आफ्नो नेतालाई सत्तामा राख्ने काम गरेको बताउनुभयो । राष्ट्रियताको रक्षाका लागि केपी ओलीसहित अन्य राष्ट्रवादी दलहरु एक भएर उभिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
विगगतका दिनमा सहयोग गरेर माथि पठाएकाहरुले अहिले आफूलाई पछाडिबाट छुरा प्रहार गरेर सिध्याउन लागिपरेको उहाँले आरोप लगाउनुभयो । विगतका दिनमा राप्रपा नेपाललाई ठूलो पार्टी बनाउन खोज्दा पार्टी फुट्न गएको स्मरण गराउँदै राप्रपा नेपालको पुनःजागृत गरेर आफूले कसैलाई धोका नदिएको थापाले स्पष्ट पार्नुभयो ।