नवोदय शिशु सदन माविकी छात्रा रेजा बिष्ट र नवोदय शिशु सदन माविका इभेन्ट म्यानेजर प्रेम क्षेत्री

नवोदय शिशु सदन माविले विद्यार्थीको सक्रिय सहभागितामा नमूना राष्ट्रसंघीय महासभाको आयोजना गर्दैछ । आइतबार सुरु भएर मंगलबार सकिने नमूना महासभामा नवोदयसँगै हेटौंडा उपमहानगर क्षेत्रका अन्य निजी विद्यालयका विद्यार्थी प्रतिनिधि पनि सहभागी हुँदैछन् । विद्यार्थीको सिकाईमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित आयोजना गरिएको नमूना महासभा तेस्रो हो भने भौतिक उपस्थितिमा पहिलो पटक आयोजना हुँदैछ । नमूना संयुक्त राष्ट्रसंघीय महासभाको आयोजनाको सम्बन्धमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले नवोदय शिशु सदन माविका इभेन्ट म्यानेजर प्रेम क्षेत्री र नमूना महासभाकी महासचिव रेजा विष्टसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

नवोदयले नमुना संयुक्त राष्ट्रसंघीय महासभा आयोजना गर्दैछ यो के उद्देश्यले आयोजना गर्दैछ ? यसमा के हुन्छ ? विद्यार्थीले के–के गर्छन् ?

क्षेत्रीः विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि नेतृत्व सीप, उनीहरुमा हुने सामाजिक क्रियाशीलताहरुमा जुन कार्यक्रम गर्दै आइरहेको छ यसलाई थप टेवा पुग्ने उद्देश्यले विद्यार्थीहरुमा नेतृत्व विकास अझै राम्रोसँग होस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गर्दैछौं । यसमा कक्षा ९ र १० का विद्यार्थीलाई अनिवार्यरुपमा सहभागी गरेका छौं भने कक्षा ८ का विद्यार्थी अनिवार्य छैन । ईच्छुक विद्यार्थी सहभागी हुन सक्छन् । संयुक्त राष्ट्रसंघको धेरै वटा कमिटी छन् । हामीले छ वटा कमिटीलाई मात्र अभ्यासमा ल्याएका छौं ।

अघिल्लो दुई वटा अभ्यासको सिकाई कस्तो रह्यो ? अहिले भौतिक उपस्थितिमा हुन लागेको सभामा फरक के गर्दै हुनुहुन्छ ?

क्षेत्रीः अघिल्लो दुई बर्षमा भर्चुअलरुपमा आयोेजना गर्दा हामीले भव्य रुपमा समापन गरेका थियौं । अहिले भौतिकरुपमा जाँदा हामीमाझ धेरै चुनौतिहरु रहेका छन् । हामीले बाहिरी विद्यालयका विद्यार्थीलाई पनि यसमा समावेश गर्नेछौं ।

कति विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन् ?

क्षेत्रीः काठमाडौं, रुपन्देही, जनकपुर, सिमरा र चितवनका विद्यार्थीलाई सहभागी हुनका लागि पत्राचार गरेका छौं । हेटौंडाका दश वटा विद्यालयमा पत्राचार गरेका छौं ।

तपाई लगायत तपाईका साथीहरुले यो नमुना संयुक्त राष्ट्रसंघीय बैठकको आयोजनाका लागि कस्तो तयारी गर्नु भएको छ ?

विष्टः हामीले जुन उद्देश्यले गरेका छौं यो कार्यक्रम युनाईटेड नेशन्स के कस्तो हुन्छ, युनाईटेड नेशनकै अवधारणालाई लिएर त्यसलाई नै हामीले विद्यालयमा अभ्यास गर्ने जुन उद्देश्य लिएर गरेका छौं त्यो कार्यक्रमका लागि हामीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हामीले जुन–जुन भूमिका पाएका छौं त्यही भूमिकामा आफूलाई कसरी ढालेर त्यो कुरालाई हामीले समसामयिक विषयसँग संयोजन गरेर हामीले त्यसलाई कसरी विकास गर्न सक्छौं भन्ने कुरामा चै अहिले हामी कार्यरत रहेका छौं ।

संयुक्त राष्ट्रसंघ भनेको के हो ? त्यसमा विभिन्न सदस्य मूलुकहरुले के गर्छ ? कसरी काम गर्छ ? भन्ने बुझ्नका लागि के–के प्रयत्न गर्नु भयो ?

विष्टः संयुक्त राष्ट्रसंघको जुन यो विषय छ यो हाम्रो कोर्षबुकमा पनि समावेश भएकोले पहिलो हाम्रो जानकारी लिने स्रोत भनेको त्यो हाम्रो कोर्षबुक नै रह्यो । त्यहाँबाट हामीले सामान्य ज्ञान पायौं । त्यसपछि रिसर्च गर्दै जाँदा हाम्रो सामाजिक शिक्षकहरुसँग पनि सोधपुछ गर्यौं । त्यस्तै ईन्टरनेटमा उपलब्ध विभिन्न वेबसाईटहरुबाट खोज्यौं ।

गत बर्ष कति विद्यार्थीहरुको सहभागिता थियो जसले दोहोर्याएर यो कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ?

विष्टः गत बर्ष कक्षा ९ का विद्यार्थीहरुलाई अनिवार्य गरिएको थियो । त्यो हिसाबले ९६ जना हाम्रो विद्यालयबाट जो अनुभवी हुनुहुन्थ्यो उहाँहरु चै फेरि सहभागी हुँदै हुनुहुन्छ ।

यस्ता कार्यक्रमहरु गरिरहँदा तपाई जस्तो विद्यार्थीहरुको पढाईमा केहि हदसम्म असर भइरहेको वा फाईदा पुगिरहेको के छ ? यसलाई कसरी लिनु हुन्छ ?

विष्टः एउटा विद्यार्थीको दृष्टिकोणबाट भन्नु पर्दा यस्तोखालको सिकाईले विद्यार्थीहरुलाई फाईदा नै पुगेको छ जस्तो लाग्छ ।

ईभेन्ट म्यानेजरको रुपमा यो ईभेन्ट आयोजना गर्न र अरु पनि नियमित ईभेन्टहरु गरिरहँदा विद्यार्थीले कसरी लिइरहेको अनुभव गर्नु भएको छ ?

क्षेत्रीः सामान्यतया जुन हामीले पाठ्यक्रममा पढिरहेका हुन्छौं त्यसैलाई हामीले प्राक्टिकलबेसमा अभ्यास गरिरहेका छौं । पढेर भन्दा पनि प्राक्टिकल्ली जाँदा चै अझै विद्यार्थीहरुको नेतृत्व विकास, क्रिटिकल थिङ्किङहरुमा फाईदा पुग्छ भन्ने कुरालाई नै आधार मानेर त्यही पाठ्यक्रम मै भएको विषयवस्तुलाई ईभेन्ट वाईज लगेर बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छौं ।