बुधबार राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । हरेक वर्ष भदौ १५ गते मनाइँदै आएको राष्ट्रिय पुस्तकालय दिवस बुधबार मनाइएको हो । यस वर्ष ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने आदर्श वाक्यका साथ १५ औं पुस्तकालय दिवस बुधबार मनाइएको छ । पुस्तकालयको विकास र यसको उपयोगलाई प्रोत्साहन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अगुवाईमा यो दिवस मनाउने गरिएको छ । मन्त्रालयले गठन गरेको राष्ट्रिय पुस्तकालय दिवस मूल आयोजक समितिले काठमाडौंमा सम्मान, पुरस्कार वितरण तथा स्मारिका विमोचन गरेर पुस्तकालय दिवस मनाएको छ । विभिन्न जिल्लाहरुमा केही साहित्यिक तथा शैक्षिक संघसंस्थाले यो दिवसमा औपचारिक कार्यक्रम गरेर मनाएका छन् । दिवस मूल आयोजक समितिले सबै विश्वविद्यालय, प्रदेशका सामाजिक विकास मन्त्रालयहरु, ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरु, ७ सय ५३ वटै स्थानीय तहका साथै पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी संघसंस्थाहरुलाई विविध रचनात्मक कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको भए पनि सरकारी स्तरबाट उल्लेख्य कार्यक्रम भएनन् ।
नेपालमा पुस्तकालयको अभ्यास सुरु भएको दुई शताब्दीभन्दा बढी भइसकेको छ । विसं १८६९ साल भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्धको पालामा पुस्तक तहबिल चिताइ स्थापना गरी औपचारिकरुपमा पुस्तकालय सुरुवात गरेको मानिन्छ । त्यही दिनको सम्झनामा डेढ दशकदेखि नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो । पुस्तकालय संस्कृत भाषाको ‘पुस्तक र आलय’ दुई शब्द मिलेर बनेको हो, जसको अर्थ पुस्तकहरु राखिएको घर हुन्छ । पुस्तक, पुस्तिका, अखबार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि सामग्री व्यवस्थितरुपमा उपलब्ध गराएको स्थान नै पुस्तकालय हो । पुस्तक ज्ञानको भण्डार हो । हामीसँग पुस्तकको अभाव छैन । हरेक वर्ष विभिन्न विषयका थुप्रै पुस्तकहरु थपिइरहेका हुन्छन् । तर, आफूले चाहेजस्तो सबै पुस्तक खरिद गरेर पढ्न सकिँदैन, जसलाई धेरै हदसम्म पुस्तकालयले सहज बनाउँछ ।
नेपालमा हजारौं पुस्तकालय रहेका छन् । सरकारले विगतमा ‘एक गाउँ एक पुस्तकालय’ तथा ‘एक विद्यालय एक पुस्तकालय’को नीति अघि सारे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । हरेक गाउँ र विद्यालयमा पुस्तकालय स्थापना हुने हो भने त्यसले पाठकको अध्ययनप्रतिको भोक मेट्नुका साथै पठन संस्कृतिको विकास गराउँदै लैजान मद्दत पुग्दथ्यो । सरकारले अघि सारेको नीतिअनुसार हरेक गाउँ र विद्यालयमा पुस्तकालय स्थापना गर्न समय लाग्छ । तर, भएका पुस्तकालयलाई व्यवस्थित गर्दै नियमित सञ्चालन हुने वातावरण बनाउन सकिन्छ । यसका लागि संघ, प्रदेश तथा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।
सूचना प्रविधिको विकास र बिस्तारसँगै पठन संस्कृतिमा आएको कमीले पुस्तकालयको महत्वलाई कम गराए पनि पुस्तकालयको महत्व कहिल्यै कम हुन सक्दैन । सूचना प्रविधिबाट सतही सूचनामात्र थाहा पाइन्छ, गहन र विस्तृत अध्ययनका लागि पुस्तकालय अपरिहार्य छ । सबै ठाउँमा पुस्तकालय नहुनु, भएका पुस्तकालयमा पठनीय पुस्तक नपाइनु, पठन संस्कृति कम हुँदै जानुले पाठकलाई पुस्तकालयले आकर्षण गर्न सकेको छैन । पुस्तकालयले मानव जीवनमा ज्ञान, सीप अभिवृद्धि गरी सभ्य र शिक्षित समाज निर्माण गर्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नु आवश्यक छ । पुस्तकालयको महत्वलाई तीनै तहका सरकारले खासै प्राथमिकता नदिएको यथार्थ हो । सरकारले पुस्तकालयको महत्व बुझेर यसको विकास र विस्तारलाई उच्च प्राथमिकतामा नराखेसम्म एक दिन मनाइने दिवसले खासै अर्थ राख्दैन ।