हेटौंडाः नेपाली हिन्दू महिलाहरुको महान् चाड तीजअन्तर्गत् आज ऋषिपञ्चमी मनाइँदैछ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीका दिन आज बिहीबार महिलाहरुले पञ्चमी स्नान र सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
पौराणिक कथनअनुसार नारीहरु रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका पापहरुबाट मुक्ति पाउनका लागि पञ्चमी स्नान तथा सप्तऋषिको पूजा गर्ने गरिन्छ । यस दिन महिलाहरुले बिहानै नजिकको नदी, खोला, तलाउ वा पोखरीमा गई विधिपूर्वक स्नान गर्ने गर्दछन् । दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गरिन्छ ।
ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । विधिपूर्वक स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ ।
हरितालिका तीजको व्रत एवम् पूजा महिला र पुरुष दुबैले गर्ने शास्त्रीय मान्यता रहेपनि ऋषिपञ्चमीको स्नान, व्रत एवम् पूजा भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद्को भनाई छ । ऋषिपञ्चमीका दिन स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।