हेटौँडा : हेटौँडामा जारी अल नेपाल ओपन यु–२२ बक्सिङ प्रतियोगिताको सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको फाइनलमा मकवानपुरका ३ जना खेलाडीले प्रवेश गरेका छन् ।
शुक्रबार प्रतियोगिताको सेमिफाइनलका खेलहरु सकिएसँगै फाइनालिष्टको टुंगो लागेको हो । सेमिफाइनलमा यु–१९ तर्फ २६ जना खेलाडीले र यु–२२ तर्फ २८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मकवानपुर जिल्लाबाट नुपम मोक्तान (६० केजी), सोहन राई (६५ केजी) र अमन श्रेष्ठ (७० केजी) फाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेदेखि हुनेछ ।
मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा बुधबारदेखि १९ वर्ष मुनिका र १९ देखि २२ वर्षसम्मका गरी दुईवटा उमेर समूहको प्रतियोगिता भएको हो । प्रत्येक उमेर समूहमा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूह तथा महिलातर्फ ५०, ५५ र ६० केजी तौल समूहका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता हेटौँडा–४ स्थित हेटौँडा कभर्ड हलमा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा शुक्रबार उत्कृष्ट बक्सर आरडिएस बक्सिङ क्लबका ५० केजी तौल समूहका रोसिकी शाही ठकुरी भएका छन् । ठकुरीलाई युवा व्यवसायी प्रचण्ड खनालले नगद पुरस्कार प्रदान गरेका छन् । प्रत्येक तौल समूहमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुने दुई जना खेलाडीले जनही ३–३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा आयोजकसहित २८ वटा क्लबका करिब २ सय जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा बागमती खेलकुद परिषद्ले विशेष सहयोग गरेको छ भने हेटौँडा स्कूल अफ म्यानेजमेन्ट मुख्य प्रायोजकको रुपमा रहेको छ ।











