हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरगढी गाउँपालिकाको दोस्रो पालिका अधिवेशनबाट अर्जुनप्रसाद दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । अधिवेशनले उपसभापतिमा गौरी सुवेदी, सचिवमा दीपक अधिकारी तथा सहसचिवमा वीरबहादुर बललाई चयन गरेको हो । पार्टीको पालिका समिति नौ जना निर्वाचित र दुई जना मनोनित सदस्य थप गरी कार्यसमिति पूर्ण बनाइने जनाइएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनमा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । यस्तै केन्द्रीय र्यापिड विभाग प्रमुख वैकुण्ठ थापा (आशिष) तथा यातायात विभागका केन्द्रीय सदस्य तरल रेग्मी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । अधिवेशनले आगामी स्थानीय र प्रादेशिक मुद्दाहरूमा पार्टीको नीतिलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।
नवनिर्वाचित सभापति दाहाल कृषि, सहकारी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उहाँ ‘कर्मयोगी पशुपालन फर्म’ मार्फत एकीकृत कृषि प्रणालीमा आबद्ध रहँदै आउनुभएको छ भने मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष समेत हुनुहुन्छ । उपसभापतिमा निर्वाचित सुवेदी लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका तथा जागरण बचत र ऋण सहकारी अभियानमा सक्रिय रहँदै आउनुभएको छ । सचिवमा निर्वाचित अधिकारी निर्माण व्यवसायसँग आबद्ध हुनुहुन्छ भने सहसचिव बल पार्टी संगठनमा सक्रिय कार्यकर्ताका रूपमा परिचित हुनुहुन्छ ।
दाहालले यसअघि जिल्ला उपसभापति पदका लागि तयारी गरिरहेका भए पनि स्थानीय कार्यकर्ता तथा वडा सभापतिहरूको आग्रहपछि पालिका नेतृत्व सम्हाल्न सहमत भएको बताउनुभएको छ । रास्वपाको संरचनाअनुसार पालिका सभापति जिल्ला समितिको पदेन सदस्य रहने व्यवस्था छ । अधिवेशनपछि प्रतिक्रिया दिँदै सभापति दाहालले संगठन विस्तारसँगै स्थानीय विकास, कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीले अघि सारेको ‘आत्मनिर्भर नेपाल’ अवधारणालाई आधार बनाएर मकवानपुरगढीलाई स्वनिर्भर गाउँपालिकाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “मकवानपुरगढी ऐतिहासिक तथा सम्भावनायुक्त क्षेत्र हो । यहाँ रहेका स्रोत, साधन र सम्भावनालाई अवसरमा रूपान्तरण गर्न सके नमुना पालिका बनाउन सकिन्छ,” दाहालले भन्नुभयो ।










