हेटौँडा : हेटौँडामा नेवाः फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यकम सुरु भएको छ । तीन दिनसम्म चल्ने नेवाः फुड फेस्टिबल हेटौँडा–२, संगमचोकमा सुरु भएको हो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले फेस्टिबलको उद्घाटन गर्नुभएको हो ।
फेस्टिबलमा नेवारी सम्प्रदायको खानपान, भेषभुषा, परम्परागत गीत, संगीत, नृत्य सहितका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा भएको फेस्टिबल तथा साँस्कृतिक कार्यक्रमले नेवाः सभ्यता, कला, संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने आयोजकले जनाएको छ । महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।
फेस्टिबलको अन्तिम दिन जेठ १७ गते मौलिक नेवारी भोज (सुकु भ्वय्) खुवाउने कार्यक्रम समेत रहेको आयोजक समितिले जनाएको छ । यस कार्यक्रममा मकवानपुर जिल्ला तथा आसपासका गरी १५ हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । वडा अध्यक्ष बिष्णुगोपाल महर्जनको सभाध्यक्षतामा उद्घाटन समारोह भएको हो ।










